पु.समाचार

आँखा उपचार सेवा शहरी क्षेत्रमा केन्द्रित, गाँउमा जनताप्रति बेवास्ता

काठमाण्डौ । नेपालको आँखा उपचार सेवा, जनशक्ति तथा आवश्यक पूर्वाधार सबै नै शहर केन्द्रित रहेका छन् । अहिले पनि दुर्गम क्षेत्रमा आँखा उपचारको सेवाको सहज पहुँच पुग्न सकेको छैन ।

‘कहिले आँखा शिविर आउँछ अनि उपचार गराँैला’ भन्ने समुदाय धेरै रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा ३०० नेत्र विशेषज्ञ, ८०० दृष्टि विशेषज्ञ र दुई हजार ५०० जना नेत्र सहायक दर्ता भई सेवा प्रदान गरिरहेका छन् । अधिकांश जनशक्ति शहर केन्द्रित रहेका छन् ।

एक लाख २० हजार मानिस दृष्टिविहीन, दश लाख २५ हजारमा उच्च तथा मध्यम प्रकारको दृष्टि समस्या र ११ लाख ५० हजार अन्धोपनबाट प्रभावित रहेका छन् । ती प्रभावितमध्ये ६६ प्रतिशतको उपचार गर्न सकिने मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

विश्वदृष्टि दिवसका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाका प्रमुख डा प्रकाश बुढाथोकीले आँखा उपचार गुणस्तरीय सेवाको पहुँच शहरी क्षेत्रमा केन्द्रित रहेकाले आँखा उपचारमा समन्वयात्मक खाँचो औँल्याए । उनका अनुसार नेपालमा न्यूनदृष्टिको मुख्य कारण दृष्टिदोष, मोतिविन्दु र जलविन्दु रहेका छन् । हरेक वर्ष ३० प्रतिशत मानिसलाई आँखाको जाँच गराउनुपर्ने आवश्यकता रहेको हुन्छ । नेपालमा ट्रकोमाको कारणले हुने न्यूनदृष्टि आउने समस्या उन्मूलन भएको छ ।

मन्त्रालयले आगामी दिनमा विद्यालय आँखा कार्यक्रमलाई उच्च प्राथमिता दिने जनाएको छ । कार्यक्रममा मन्त्रालयका सचिव खगराज बराल र सहसचिव महेन्द्र श्रेष्ठले विद्यालयमा आँखा जाँच कार्यक्रमलाई आगामी दिनमा विस्तार गर्ने नीति रहेको जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्ममा उपचार र रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशतमा घटाउने विश्वव्यापी लक्ष्य लिएको छ । यो लक्ष्यलाई हासिल गर्न नेपालले धेरै काम गर्नुपर्ने कार्यक्रममा नेत्रविशेषज्ञ एवम् तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक सन्दुक रुइतले बताए ।

उनले भने, “आँखा उपचार सेवामा सबैको पहुँच पु¥याउन सरकारी लगानी बढाउन जरुरी रहेको छ । मधुमेह, रक्तचापका कारणले हुने आँखाको समस्या पछिल्लो समय वृद्धि भइरहेको छ । तल्लो तहसम्म आँखा उपचार सेवा विस्तार गर्न राजनीतिक प्रतिबद्धताको खाँचो रहेको छ ।”

सन् १९८१ मा नेपालमा पहिलोपटक अन्धोपनको सर्वेक्षण सम्पन्न भएको थियो । कूल जनसङ्ख्यामा ०.८४ प्रतिशतमा दृष्टिविहीन रहेको सर्वेक्षणले जनाएको थियो । अन्धोपनका प्रमुख कारकहरुमा क्रमशः मोतीविन्दु, ट्रकोमा, भिटामिन ‘ए’ को कमी, जलविन्दु, दृष्टिपर्दाका रोगहरु रहेको पाइएको थियो ।

आँखा विशेषज्ञ प्राडा आनन्द शर्मा, प्राडा बद्री पौडेल र दृष्टि विशेषज्ञ सङ्घका अध्यक्ष दीपककुमार साहले सरकारी सेवाका नेत्र विशेषज्ञ, नेत्र सहायक पद सङख्या बढाउनुपर्ने माग गरे । अर्कोतर्फ तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा उत्पादित आँखाको लेन्स विश्वका ५० भन्दा बढी देशका बिक्री–वितरण भइसकेको छ । विगत एक वर्षको अवधिका उत्पादित पाँच लाख लेन्समध्ये ती देशमा तीनलाख २५ हजारभन्दा बढी लेन्स बिक्री भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले उत्पादन गर्ने लेन्स विश्वको उत्कृष्ट लेन्सभित्र पर्दछ ।