कृषि

मासु पसल अनुगमन, तीन दिनभित्र नवीकरण नगरे कारबाही गर्ने चेतावनी

नेपालगञ्ज । नेपालगञ्ज बजारका आठ वटा मासु पसलको अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले बिहीबार गरेको अनुगमनका क्रममा चार वटा मासु पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौडेलले बताए।

उक्त मासु पसललाई तीन दिनभित्र पसल दर्ताको प्रमाणपत्र पेश गर्न निर्देशन दिइएको छ । यस्तै एउटा पसल नवीकरण नभएको पाइएकाले तीन दिनभित्र नवीकरण गर्ने समय दिइएको छ ।

बजारमा मासुको मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो आएपछि अनुगमन गर्न निस्किएको संयुक्त बजार अनुगमन टोलीले मासु पसलको मूल्यसूचि अद्यावधिक नगरेको, नापतौल यन्त्र नापतौल कार्यालयबाट प्रमाणित नगराएको भेटिएकाले तत्काल सच्चिन निर्देशन दिइएको प्रमुख पौडेलले बताए ।

फौजी किराको प्रकोप, धानबालीमा क्षति

बाँकेमा फौजी किराको प्रकोप बढेको छ । फौजी किराले किसानको पाक्न लागेको धानबालीमा क्षति पु¥याएको छ ।

फौजी किराको प्रकोप बढेको किसानको गुनासो आएपछि आज कृषि ज्ञान केन्द्र र डुडुवा गाउँपालिकाका कृषि प्राविधिकले किसानका धानखेतको अनुगमन गरेका थिए ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार, डुडुवा गाउँपालिकाको हिरमिनिया र कम्दी तथा राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर र बिनौनामा फौजी किराको बढी प्रकोप देखिएको छ । झण्डै ५ देखि ८० प्रतिशत धानबाली फौजी किराले नोक्सान गरेको ढकालले बताए ।

अनुगमनका क्रममा टोलीले किसानलाई फौजी किरा मार्न विषादीसमेत दिएको छ । साथै किसानलाई फौजी किराको प्रकोप रोकथामका लागि धानबालीमा मट्टीतेल छर्किन, खेतमा पानी हाल्न र पाकेको धान काट्नका लागि सुझावसमेत दिएको ढकालले बताए ।