राजनीति

दुवै देशका उच्चस्तरीय अधिकारीबीच संवाद निरन्तर: डा भट्टराई, काँग्रेसले स्वागत गर्छः डा महत

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले चिनियाँ राष्ट्रपतिको दुईदिने नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ रेल्वेसम्बन्धी सम्झौता हुने बताएका छन् ।

आज यहाँ आयोजित एक अन्तरकृयामा उनले सम्झौताका लागि अहिले दुवै देशका उच्चस्तरीय अधिकारीबीच संवाद निरन्तर भइरहेको जानकारी दिँदै चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको नेपाल भ्रमण ऐतिहासिक र राजकीय भ्रमण भएकाले विशेष महत्वको हुने बताए ।

यसअघि नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनको राजकीय भ्रमण गरेको र नेपालको राष्ट्रपतिको निम्तो स्वीकारेर चिनियाँ राष्ट्रपतिले आगामी शनिबार गर्ने भ्रमाणले दुई देशका साथै जनताबीच बलियो सम्बन्ध बनाउने बताउँदै उनले कूटनीति र आर्थिक क्षेत्रमा नेपालको परराष्ट्र नीति सुदृढ रहेको र सोहीअनुसार सफलता कायम हुँदै गइरहेको बताए । शनिबार नै चिनियाँ राष्ट्रपतिले राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेतासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको जनाइएको छ ।

नेपाली काङ्ग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिले स्वदेशमा गर्न लागेको भ्रमणलाई पार्टीले स्वागत गर्ने बताए । उनले चीन नेपालको छिमेकी मित्रराष्ट्र मात्रै नभएर एउटा नजिकको मित्र भएको हुँदा पारस्परिक हितमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिए । सरकारले बीआरआई परियोजनालाई कुशलतापूर्वक कार्यान्वयनमा ध्यान दिनुपर्ने सुझाव दिँदै नेता महतले चिनियाँ लगानी नेपालमा आमन्त्रण गर्न सकिए दुई देशबीच रहेको व्यापार घाटा घटाउन सकिने विचार व्यक्त गरे ।