पर्यटन/संस्कृति

त्रिपुरासुन्दरी माईलाई दही चढाएपछि दही छ्याप्ने जात्रा सम्पन्न

चौतारा । एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा सम्पन्न भएको छ ।

विजयादशमीको भोलिपल्ट असोज २२ गते दशैँ सकिएको सङ्केत गर्दै खड्ग जात्रासँगै त्रिपुरासुन्दरी माईलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाइने जात्रा आज सम्पन्न भएको हो ।

तेह्रौँ शताब्दीको मल्लकालदेखि शुरु भएको उक्त जात्रा यहाँबाहेक अन्यत्र कतै नभएको र तौथलीको त्रिपुरासुन्दरी माईको मन्दिरमा प्रत्येक वर्ष लाग्दै आएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए । आसपासका गाउँका गाईभैँसीले सधैँ दूध दिइरहुन् भन्ने विश्वासमा देवीलाई दही चढाउने परम्परा रहँदै आएको छ । एकले अर्कालाई दही छ्यापाछ्याप गर्दा सहभागीको अनुहारसमेत चिन्न मुस्किल पर्ने र छ्यापेको दही बगेर पैदल हिँड्नसमेत असहज हुने स्थानीय बासिन्दा बताउँछन् ।

जात्रामा करीब ८÷१० वर्षअघिसम्म प्रशस्त दही जम्मा भई जात्रामा खोलो नै बग्ने गर्दथ्यो । तर गाउँमा चौपाया पाल्ने किसानको कमी हुन थालेपछि दही आउन पनि कम हुँदै गयो । त्यसलाई दृष्टिगत गरी यस वर्ष दही खरीद गर्न पालिकाले रु दुई लाख र चन्दा सङ्कलनबाट रु दुई लाख गरी रु चार लाख जम्मा भएकाले पुनःपहिलेकै अवस्थामा दहीको खोलो बगाउने योजना रहेको अध्यक्ष श्रेष्ठ बताउछन् ।

द्वापरयुगमा कौरव र पाण्डवको कलहका कारण पाण्डव जुवा हारेपछि १२ वर्ष वनबास र एक वर्ष गुप्तबास बसेको महाभारतमा उल्लेख छ । उनीहरु गुप्तबास बसेको ठाउँ दोलखा भएको अनुमान गरिएको छ । गुप्तबास बस्दा अरुबाट चिनिने डरले उनीहरूले पाल्छी भाषा अर्थात् कोड भाषा प्रयोग गरेका थिए । दोलखा र तौथली डाँडाबारी र पारी पर्ने हुँदा दुवै स्थानका नेवारले बोल्ने भाषा प्रायः मिल्दोजुल्दो छ । दोलखाका नेवार समुदायले बोल्ने भाषा तौथलीबाहेक नेपालका कुनै पनि स्थानमा बोल्दैनन् र बुझ्न पनि कठिन पर्दछ । दोलखामा जस्तै तौथलीमा पनि भिमसेनको मन्दिर रहेको छ ।