प्रदेश 1

चट्याङले छ घाइते, दुई चौपाया मरे

भोजपुर । अविरल वर्षात्सँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गए राति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उहाँकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको भनाइ छ ।

त्यस्तै ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर राईकी १६ वर्षीया छोरी इन्दिरा खत्री र २२ वर्षीया कोपिला गिरी घाइते भएको प्रहरीले जनाएको छ । घाइते अधिकांशले कान नसुन्ने तथा शरीरको विभिन्न ठाउँमा असर देखिएको प्रहरीको भनाइ छ । चट्याङका कारण स्थानीइ गञ्ज राइको गोठमा बाँधेका दुई वटा भेडा मर्दा रु ५० हजार बराबरको क्षति भएको छ । त्यस्तै स्थानीय ८५ वर्षीय मानबहादुर राईको एक तले घर भत्किँदा रु ५० हजारको क्षति भएको प्रहरीको भनाइ छ ।

त्यसैगरी लाम्लुङ गाउँमा रहेको कैकुलघु जलविद्युत आयोजनामा रु ८५ हजार बराबरको क्षति भएको छ । सो विद्युत् आयोजनाबाट गाउँमा वितरण गरेको तीन हजार मिटरतार समेत डढेको जनाइएको छ । सो स्थान दुर्गम रहेको कारण गरी सूचना सङ्कलनमा समेत समस्या भएको छ ।