बाग्मती

सुदृढ वर्तमान र उज्यालो भविष्य निर्माण गर्ने अभिभारा सबैको : मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नेपालीको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मेहनतबाट समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने बताएको छ । बडादशैंँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा आज सन्देश दिँदै उनले विभिन्न चाडपर्वले नेपालीबीच एकता कायम गर्न मद्दत पुगेको बताएको छ ।

“शरद ऋतुको आगमनसंँगै नेपालीहरुको घरआँगनमा आएको महान् पर्व विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवम् भौगोलिक विविधतायुक्त देश हो । परापूर्वकालदेखि नै चलिआएका हाम्रो अमूल्य निधिका रुपमा रहेका धार्मिक तथा सांस्कृतिक मूल्यमान्यता, रीतिरिवाज, चाडपर्वहरुले विविधताका बीच पनि आपसी शान्ति, प्रेम, भ्रातृत्व र सद्भावको सन्देश दिँदैआएका छन् । यही नै हाम्रो एकताको आधार हो, यही नै हाम्रो पहिचान हो, यसैको जगमा अब सुदृढ वर्तमान र उज्यालो भविष्य निर्माण गर्ने अभिभारा पूरा गर्नु छ ”, सन्देशमा भनिएको छ ।

सन्देशमा पौडेलले सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न प्रदेश नं ३ सरकार दृढतापूर्वक लागिपरेको बताउँदै समृद्धिका लागि हातेमालो गर्दै अघि बढ्न आग्रह गरेका छन् ।