समाचार

‘अग्रजको सम्मान र इतिहासको सुरक्षा गर्ने हामी सबैको कर्तव्य’ : अध्यक्ष तिमिल्सिना

काठमाण्डौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिवप्रसाद पोखरेल स्मृति प्रतिष्ठानले शिवप्रसाद पोखरेलको देहावसान भएको २६ वर्षपछि प्रकाशन गरेको ‘समाजसेवी शिवप्रसाद पोखरेल स्मृतिग्रन्थ’को आज लोकार्पण गरेका छन् ।

विसं १९९९ पुस १५ गते पूर्वी पहाडको माम्खामा जन्मनुभएका पोखरेलको अर्बुदरोगका कारण २०५५ भदौ ११ गते झापाको भद्रपुर नगरपालिका वडा नं७ चन्द्रगढीमा देहावसान भएको हो । पुत्र सविन पोखरेलले सम्पादन गरेको कृतिमा शिवप्रसाद पोखरेलसँग सङ्गत गरेका तथा कुनै न कुनै प्रभाव ग्रहण गरेका चालीस व्यक्तिका संस्मरण, गीत र कविता तथा सम्बन्धित तस्वीर समावेश गरिएका छन् ।कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अग्रजको सम्मान गर्ने र इतिहासको सुरक्षा गर्ने हामी सबैको कर्तव्य भएको बताए। उनले सङ्घीय लोकतन्त्रको स्थायित्व र मुलुकको समृद्धिका रचनात्मक काम गर्न सबैलाई आग्रह पनि गरे । पूर्वमन्त्री राधाकृष्ण मैनालीले शिवप्रसाद र उनको परिवार इमानदार, नैतिकवान्, असल, मिलनसार, सत्कर्ममा विश्वास गर्ने भएको बताउँदै हिजोको इमानको खोजी गर्न सकियो भने मात्र भोलिलाई चिन्न सकिने धारणा राखे ।

संविधानविद् काशीराज दाहाल, डा रामप्रसाद दाहाल र साहित्यकार रामप्रसाद पन्त, धर्मपत्नी महेन्द्रकुमारी पोखरेल, डा प्रेणित पोखरेल र ससिम पोखरेले स्मृतिग्रन्थको प्रकाशनले अग्रजको सम्मान गरेको, श्रद्धा गर्ने सत्कर्मको थालनी गरेको, गुणग्राहिता प्रदर्शन गरेको र सम्झनामा रहेका पात्रलाई पुस्तकाकार रूप दिने प्रयत्न गरेको बताए।

पूर्वसांसद तथा शिवप्रसादका कान्छा भाइ पुष्पराज पोखरेलले आफ्ना साहिँला दाजु शिवप्रसाद परिवारकै पहिलो कलेज पढ्ने व्यक्तित्व भएको र उनले बाँचेको इज्जत, सम्मान र प्रतिष्ठायुक्त जीवन परिवारकै लागि अनुकरणीय भएको बताए ।