विचार/ब्लग

दशैंमा पीङ खेल्न र चङ्गा उडाउन साह्रै रमाईलो

नविना तामाङ/दशैँ हिन्दु नेपालीहरुको महान पर्व हो । देशमा रहेका ८० प्रतिशत भन्दा बढी हिन्दु धर्मावलम्विहरुले यस पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् । दशैंको नवमीसम्म अईपुग्दा काठमाण्डौदेखी देशका बिभिन्न शहरहरुमा मानिसहरुको चहलपहल शुन्यप्रायः देखिएको छ भने गाँउ तथा दुरदराजमा भीडभाड बढेको छ । दशैँमा नव दुर्गा भवानीको पुजाआजा गर्दछन् । सोह्र श्राद्धबाट शुरु हुने दशैं घटस्थापनाबाट औपचारिक रुपमा शुरु हुन्छ, दशैंको सातौं दिनको रुपमा लिईने फुलपातीदेखी त देश नै पुरै दशैंमय हुन्छ । दशमीको साईतको टीका, जमरा र मँनयजनबाट आशिर्बाद लिईसकेपछि दशैं सकिन शुरु हुन्छ । आफन्तजन टाढा भएको खण्डमा टीका लगाउन दशमीको दिन नभ्याइएको खण्डमा एकादशीदेखी पुर्णीमा सम्म टीका लगाएर आशिर्बाद लिने भने गरिन्छ । दशैँको अवसरमा आफुभन्दा ठुला बडाको हातबाट टीका लगाई आर्शिवाद लिने चलन छ ।

-नविना तामाङ

दशैँमा मीठो खाने, राम्रो लगाउने, घरपरिवार, आफन्त, ईष्टमित्र, मान्यजन, प्रियजन, साथिभाईसँग भेटघाट गर्छन् । एकआपसमा खुसियाली तथा वेदनाका कुराहरु साटासाट गर्छन् । दशैँमा लिङ्गे पिङ, रोटेपिङ पनि खेलिन्छ, बर्षमा एकपटक पिङ खेल्दै धरती छाडेमा पुण्य कमाउने विश्वास पनि राख्दछन् । बर्षमा एकपटक मात्र आउने यो महान चाड हर्ष, उल्लासका साथ मनाईन्छ । जसले धार्मिक तथा साँस्कृतिक मान्यता बोकेको हुन्छ ।

दशैँ एउटा पर्व मात्र नभएर टाढा, नजिक भएका घरघराना, आफन्तजन, मान्यजन, प्रियजन, भाईबन्धु, साथीसंगी एकैसाथ जम्काभेट हुने माध्यम पनि हो । बुढाबुढी भएका आमाबुवा पनि आफ्ना छोरा÷बुहारी, छोरी÷ज्वाँई, नाती÷नातीना घर फर्किदा परिवारलाई एकैसाथ पाउँदा एकदमै खुशी हुन्छन् दशैँमा परदेशिएका नेपालीहरु पनि आफ्नो देश, आफ्नो घर, देशको माटो, आफ्नो सँस्कृति तथा धार्मिक परम्परालाई सम्झेर घर फर्किन्छन् । राजधानी, सदरमुकाम, सहर, बजार भित्रिएकाहरु पनि आ–आफ्ना घर फर्किन्छन् । जसले गर्दा गाउँघरमा मानिसहरुको चहलपहल बढि हुन्छ । यसै मौकामा गाउँघरमा व्यापार, व्यबसाय पनि अरु बेला भन्दा बढि फस्टाउछन् । दशैँको बेला खाद्यपदार्थ र बिभिन्न मालसामानको भाउ बढाउछन्, व्यापारीहरु ।र सहर भने सुनुसान नै बन्दछ, यसै मौकामा कतिपय फटाहा व्यक्तिहरुले भने चारी, डकैँती, लुटपाट जस्ता कामहरु पनि गर्दछन् । सहर बजारबाट यस्ता अप्रिय घटनाहरु पनि सुनिन्छ ।

आजभोली दशैँ मनाउने प्रचलनमा भिन्नता आएको छ । मानिसरु आजभोली दशैँलाई पर्वको रुपमा नलिई रमाईलो गर्ने माध्यमका रुपमा लिन्छन् । दशैँ आफुसँग खर्चले हर्षले मनाउने पर्व हो । तर दशैँको अवसर पारेर मद्यपान सेवन गर्ने, धुम्रपान सेवन गर्ने, जुवातास खेल्ने, को भन्दा को कम भन्ने भावना लिएर देखासिकि गर्ने प्रचलन आजभोलि बढ्दै गईरहेको छ । दशैँको नाममा अनावश्यक सपिङ गर्ने, कसको घरमा ठुलो खसी भन्ने जस्ता खालका भावना स–साना नानी बाबुहरुमा समेत यस्ता भावनाको विकास भैसकेको छ ।

दशैँले नेपाली समाजमा खुशी लिएर आएको हुन्छ, तर गरिबहरुको परिवारमा भने ऋणको भारी र अनगिन्ति पीँडा पनि थुपारिरहेको हुन्छ । सामन्ति साहुबाट लिएको ऋण तिर्न नसकेको बेलामा झ्याप्पै दशैँले छोप्दा, दशैँ कसरी मनाउने, छोराछोरीलाई नयाँ लुगा कसरी दिने, एकछाकले भोक टार्न धौधौ परेको अवस्थामा, एकछाक मासु र मीठो खाना कसरी दिने । यस्तेै पीँडामा रुमलिएर साहुकहाँ ऋण माग्न जाँदा पहिलेको ऋण तिर्नु अनि नयाँ ऋण पाउँछ भन्ने जवाफ सुन्दा मनभरी पीँडा लिई घर फर्किएर रुवाबासिमा दशैँ मनाउनु पर्ने हुन्छ । त्यस्तै सबैको घरमा फुलपाती भित्राउँदा आफ्नो घरमा भने परदेशिएको छोराको लास भित्रिदा कुन चाँहि बुवाआमाको मनमा पीँडा नहोला र ? यसरी दशैँ गबिहरुको लागि भने दुःख र पीँडाको चाड पनि बनिरहेको छ ।

दशैमा मीठो परिकार खाने चलन त छँदैछ । तर आजभोली विभिन्न आईटमका परिकारहरु, धेरै प्रकारका मासुहरु खाने प्रचलन बढेको छ । जसले गर्दा मानिसहरुले विभिन्न स्वास्थ्य समस्याहरु समेत भोग्नुपर्ने हुन्छ । धेरै मसलेदार खानेकुरा र चिल्लो पर्दाथको सेवन गर्नाले स्वास्थ्यमा ठुलो असर पर्दछ । यस्ता खानेकुराहरु बढि मात्रामा खाएमा झाडा, वान्ता लगायतका स्वास्थ्य समस्याबाट पीडित हुनु पर्दछ । खासगरी सुगर, युरिक यसिड, मुटुसम्बन्धि रोग भएका बिरामिहरुले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । बद्लिदो मौसमका कारण पनि विभिन्न रोगहरु लाग्न सक्ने हुँदा खानेकुरा, पिउने पानि, सरसफाई ईत्यादी कुरामा ध्यान पुर्याउनु जरुरी छ ।

दशैंमा बर्षभरी काम गर्ने मजदुरहरु, विद्यार्थीहरु, कर्मचारीहरु आ–आफ्नो घर गई आराम समेत गनेृ गर्दछन् । ५ दिनको समय सरकारले समेत कर्मचारीका लागि दशैं बिदा दिएको हुन्छ । सुरक्षाकर्मी, पत्रकार लगायत केहीले भने दशैंमा विदा पाउदैनन्, उनीहरुले आफ्नो जिम्मेवारी सम्हाल्नुपर्ने कारणले उनीहरु दशैंमा रमाउन नपाएर बेदनाका गीत गाएका समेत सुन्न सकिन्छ । पीङ खेल्नु, नयाँ लुगा लगाउनु, मीठा मीठा परिकार खानु, आफन्तजन तथा मित्रहरुसँग भेटघाट हुनु आफैंमा राम्रा कुरा हुन् । तैपनि आफ्ना बिभिन्न बाध्यताका कारण दशैं मनाउन नपाउदा कतिपयलाई दुःख लाग्न सक्छ । कतीपय नेपाली दाजुभाईदिदीबहिनीले आर्थिक समस्याका कारण घर जान सकेका हुदैनन् । मलाई चैं दशैंमा पीङ खेल्न र चङ्गा उडाउन साह्रै रमाईलो लाग्दछ । अनि मामा घर गएर टीका अनि आशिर्बाद थाप्दा झनै रमाईलो । दशैंको हिन्दू, मुसल्मान, क्रिश्चियन, धनी, गरिव सबैलाई शुभकामना !