समाचार

स्थानीय जनताको माग अनुसार कालोपत्रे र ढलान रोक्न निर्देशन दिएका हौंः उपमेयर खड्गी

काठमाण्डौ । काठमाडौँ खुलामञ्चस्थित अस्थायी बसपार्कमा अत्यधिक धुलो उडेपछि त्यसलाई रोक्न शुरु भएको कालोपत्रे र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध गरिएको छ ।

नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधान, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र वडा नं २८ का वडाध्यक्ष भाइराम खड्गीकै उपस्थितिमा काममा अवरोध गरिएको हो । दुई पक्षीय विवादका कारण अहिले यहाँको काम रोकिएको छ भने ढलान गरिएको ठाउँमा गाडी कुदाएर क्षति पु¥याइएको छ ।

धुलो रोक्ने उद्देश्यले गत बुधबारको महानगरको निर्णयअनुसार गाडीको चाप हुने ठाउँमा ढलान र अन्य क्षेत्रमा कालोपत्रे गरेर धुलो रोक्न जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सलाई जिम्मा दिइएको महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको तयारीका क्रममा काठमाडौँका मुख्य क्षेत्रमा सजावट र कालोपत्रेलगायतको काम जारी छ । सोही क्रममा खुलामञ्चबाट धुलो उडेर आसपास क्षेत्र प्रभावित हुने भएकाले अस्थायी समाधानका लागि यहाँ काम गर्न लागिएको थियो तर जनप्रतिनिधिकै उपस्थितिमा उक्त काममा अवरोध गरिएको हो ।

सो विषयमा महानगरका उपप्रमुख खड्गीले कालोपत्रे मात्रै गर्ने भनिए पनि रड नै राखेर ढलान गरिएकाले स्थानीय जनता विरोधमा उत्रिएपछि आज बिहान आफू त्यहाँ पुगेको र असन्तोष देखिएकाले तत्कालका लागि ढलान रोक्न भनिएको बताईन् । “हामीलाई पनि यो विषयमा जानकारी थिएन, कुराकानीका क्रममा मेयर ज्यूले कालोपत्रे गर्न लागिएको छ भनेर जानकारी दिनुभएको थियो, हेर्न जाँदा ढलान नै गरेको देखिएपछि स्थानीयले अवरोध गरेका हुन्”, खड्गीले भनिन् ।

उनले कालोपत्रे मात्रै गरिएको भए समस्या नआउने भन्दै ढलान गर्न खोज्दा समस्या आएको बताए । यस क्रममा आज बिहान यहाँ लगाइएको बारसमेत भत्काइएको छ भने भर्खरै ढलान गरिएको स्थानमा गाडी गुडाएर क्षति पु¥याइएको छ ।

महानगरपालिका–२८ का अध्यक्ष भाइराम खड्गीले आफ्नै वडामा हुन लागेको कामको विषयमा आफूलाई नै जानकारी नभएको बताउँदै स्थायीरूपमै सिमेन्ट ढलान गर्न लागिएको पाइएकाले अवरोध भएको बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले कालोपत्रे गर्ने ठाउँमा डण्डी राखेर ढलान गरेको भन्दै विवाद निस्किएको देखिएको बताउनुभएको छ । प्रहरीका अनुसार अवरोधका क्रममा खुलामञ्चमा जनप्रतिनिधिसहित सम्पदा संरक्षण अभियानका प्रतिनिधि सहभागी भएका थिए ।