गण्डकी प्रदेश

राइनास साहित्य पदयात्रा

लमजुङ । बडादशैँको शुभमकामना आदानप्रदान गर्नका लागि राइनास साहित्य पदयात्रा २०७६ गरिएको छ । राइनास नगरपालिकाको सहयोगमा राइनास वाङ्मय प्रतिष्ठान र सौभाग्यदेव पूर्वविद्यार्थी समाज राइनासले नगरपालिकाका बासिन्दालाई दशैँको शुभकामना दिँदै पदयात्रा गरेको हो ।
फूलपाती अर्थात् शनिबारदेखि नगरपालिका ४ सातबिसे बजारबाट शुरु भई भलायोखर्क, राइनासकोट, तीनपीप्लेलगायत स्थान हुँदै सातबीसे बजारमा नै आएर आज साहित्य पदयात्रा टुङ्गिएको छ । सहभागी करीब ५० जनाले कविता, मुक्तक, गजल, गीतमार्फत दुई दिनसम्म नगरवासीको सुखशान्तिको कामना गरी नगरका १० वटै वडा परिक्रमा गरेका थियो । साहित्य पदयात्राका टोलीबाट नगरवासीलाई प्रत्यक्ष रुपमा दशैँको शुभकामना दिन र एकार्काको शुभभावना साटासाट गर्नका लागि सहयोग पुगेको नगर प्रमुख सिंहबहादुर थापाले बताए ।
कलासाहित्यको जगेर्ना गर्दै दशैँको शुभकामना सन्देश दिनका लागि पदयात्रा आयोजना गरिएको सौभाग्यदेव पूर्वविद्यार्थी समाजका नवराज पौडेलले भने । आगामी वर्षमा समेत यस्ता अभियानलाई निरन्तरता दिइने उनको भनाइ छ ।