कर्णाली प्रदेश

आफ्नो पारिश्रमिकबाट घाइतेलाई उपचार खर्च सहयोग

दैलेख । सडक निर्माणको काम गर्दा लडेर घाइते भएका एक जनालाई भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले रु २१ हजार उपचार खर्चस्वरुप सहयोग गरेको छ । सडक निर्माणको काम गर्दै गर्दा लडेर घाइते गाउँपालिका ४ का अम्मरबहादुर सिंहलाई आफूले गाउँपालिकाबाट पाउने पारिश्रमिकबाट उपचार खर्च सहयोग गरेको अध्यक्ष थापाले बताए ।

यसअघि आफूले गाउँपालिकाबाट पाउने सम्पूर्ण तलब गाउँमा रहेका गरीब, दलित, अपाङ्गता भएका र द्वन्द्वपीडितलाई सहयोग गर्ने घोषणा गरेको उनले पाँच महिनाको तलब द्वन्द्वपीडित र असहाय बालबालिकाको पढाइमा सहयोग गरेको थियो ।
यसैबीच भैरवी गाउँपालिकाले गाउँका दुर्गम स्थानमा पुगेर महिलाको स्वास्थ्यावस्थाको जानकारी लिन गाउँपालिकाभरिका ५५ महिला स्वास्थ्य स्वयंसेविकालाई जनही रु १० हजारका दरले दशैँ खर्च उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए ।