समाचार

सुनसान हुँदै काठमाडौँः शनिबारसम्म तीन लाख ४५ हजार यात्रु बाहिरिए

काठमाण्डौ । दशैँ मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका शनिबारबाट सुनसानजस्तै देखिन थालेको छ । उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् । अघिपछि सवारी जाम हुने यहाँको विभिन्न चोकहरुमा आज रोकिनु नपरेको महानगरीय ट्राफिक प्रहरी महशाखाले जनाएको छ । सीमित मात्रामा भाडाका र निजी गाडी तथा मोटरसाइकल चलेका थिए । सवारी कम भएकाले आज दिउँसो कार्यस्थलमा खटिएका ट्राफिक प्रहरीहरु फुर्सदिला देखिएका थिए ।

कलङ्की, कोटेश्वर तथा न्यूरोडलगायत व्यापारिक क्षेत्रहरुमा अझै केही भीडभाड रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । सो क्षेत्रमा सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटाइएको उनले बताए । प्रहरीका अनुसार आइतबार अष्टमीदेखि भने काठमाडौँको सवारी र मानवीय चहलपहल थप सुनसान हुनेछ । आजदेखि सार्वजनिक बिदा भएकाले आज धेरै सवारी र यात्रुहरु राजधानी बाहिरिएका छन् ।

महाशाखाले दिएको तथ्याङ्कअनुसार आज मात्रै तीन लाख ४५ हजार मानिस राजधानीबाट बाहिरिएका छन् । दशैँ मनाउन आज सबैभन्दा बढी यात्रु राजधानी बाहिरिएको महाशाखाले जनाएको छ । यसअघि शुक्रबार र शनिबार क्रमश दुई लाख १५ हजार र दुई लाख ४० हजार यात्रु राजधानीबाट बाहिरिएका थिए । प्रहरीका अनुसार अहिलेसम्म राजधानीबाट दशैँ मान्नका लागि करीब २० लाख मानिस बाहिरिएका छन् ।

असोजको दोस्रो साता यातायातका साधन बिग्रिएकाले नागढुङ्गा–नौबिसे सडकको यातायत आवागमनमा केही दिन समस्या देखिएपछि तत्काल समाधान गरी यातायात सहज बनाइएको र अन्य क्षेत्रमा यसपालि ठूलो समस्या नदेखिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

पोखरेलले यसपालि विगतको भन्दा शान्ति सुरक्षा प्रभावकारी भएको उल्लेख गर्दै अप्रिय र जघन्य घटना नभएको जानकारी दिए । उनका अनुसार दशैँको अवसरमा शान्ति सुरक्षाका लागि देशभरका आठ हजार ५०० स्थानमा ४३ हजार प्रहरी परिचालन गरिएको छ । प्रहरीले निगरानी बढाउँदाबढाउँदै पनि यातायातमा भने तोकिएभन्दा दोब्बर बढीसम्म भाडा असुल्ने गरेको पाइएको थियोे । तर प्रहरीले निगरानी बढाएकाले विगतमा जस्तो समस्या नदेखिएको भन्दै प्रवक्ता पोखरेलले अहिलेसम्म भाडा बढी लिने ३५० गाडीलाई कारवाही गरिएको जानकारी दिए ।

प्रहरीले उपत्यकाबाट घर छाड्नेलाई छिमेकी तथा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । अहिलेसम्म दुई÷तीन सयले मौखिकरुपमा घर छाडेको जानकारी दिएकाले सो क्षेत्रमा प्रहरीको मोबाइल गस्तीमार्फत निगरानी भइरहेको महानगरीय प्रहरी परिसर काठमडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उपत्यकाको सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीले ३६८ स्थानमा सवारी जाँच गरिरहेको छ । यसअघि ७५० ट्राफिक प्रहरी खटिएकामा अहिले ४३० प्रहरी थप खटाइएको र बसपार्क तथा विभिन्न नाकाका १५ स्थानमा विशेष जाँच भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिए।

ट्राफिक सचेतना, जानकारी र व्यवस्थापनका लागि स्वयंसेवक र कलाकारहरुले समेत आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेको महाशाखाले जनाएको छ । यसपटक झण्डै ५०० स्वयंसेवक उपत्यकामा ट्राफिक व्यवस्थापनमा खटिएका छन् ।

प्रहरीले यही असोज ५ गतेदेखि चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना लागू गरेको थियो । प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमकै कारण यसपटक शान्ति सुरक्षा सवल भएको जिकिर गरेको छ ।