प्रदेश 1

हजुरबुबाले बनाएको घरलाई बनाए यसरी “नयाँ होमस्टे ”

झापा । झापा बुद्धशान्ति गाउँपालिकाका एक युवकले आफ्ना हजुरबुबाले बनाएको पुरानो घरलाई ‘घरबास’का रुपमा सञ्चालन गरेको छ ।

झापाको बुद्धशान्ति–२ बुधवारेमा काठमाडौँ निवासी ३१ वर्षीय समरेन्द्र प्रसाईंले ५० वर्षअघि हजुरबुबाले बनाएको घरमा घरवास सञ्चालन गरेको हो ।

झापाको बुधवारे बजारबाट एक किलोमिटर पश्चिम जयपुर जाने बाटोको दक्षिणपट्टि एउटा चिटिक्क परेको घर छ । घर अगाडि साइनबोर्डमा लेखिएको छ– ‘फार्महाउस होमस्टे’ । बाहुनडाँगी र गौरादहपछि झापाको बुधबारेमा यस्तो होमस्टे (घरवास) खुलेको हो ।

फराकिलो आँगन, बारीमा भोगटे, सुपारी, लिची, आँप, चारपाटे, अम्बाजस्ता फलफूलको बगान । गोठमा एक माउ गाई र खोरमा खरायो र कुखुरा उफ्रिरहेको देखिन्छ । बाटो हिँड्नेहरुको नजर यो होमस्टेमा पर्ने गरेको छ । काठको बलियो टाढेघरलाई सिमेन्टका संरचनाले सिगारिएको यो घरको भुइँतलामा चार र टाढमा चार मनमोहक कोठा छन्, जसले पर्यटकलाई पर्खिरहेका छन् । सबै कोठामा एटेच बाथरुम छ । बिजुली, धारा, वाइफाइ सबै सुविधा छ ।

यसै वर्षदेखि शुरु भएको फार्महाउस घरवासका सञ्चालक प्रसाई शहरिया र बाह्य पर्यटकले गाउँको वातावरण र खानपिन रोज्ने भएकाले त्यही माग पूरा गर्न घरवास स्थापना गरेको बताउछन् । यो घरावासमा चियादेखि भात, सागसब्जी र मासु पनि आफ्नै घरबारीमा उत्पादन भएको पाक्ने गरेको प्रसाईं बताउछन्। सागसब्जीका लागि बारीमा टनेलभित्र विभिन्न खेती गरिएको छ ।

“खासमा यो घरवास भएको घर मेरो हजुरबुवाले ५० वर्षअघि बनाउनु भएको आवास हो”, समरेन्द्र भन्छन् “पढ्ने क्रममा हामी काठमाडौँ आइहाल्यौँ, त्यो घर खाली नै रह्यो, अनि मैले यसलाई नयाँ स्वरुप दिएर होमस्टे बनाएँ ।” द्वन्द्व व्यवस्थापनमा श्रीलङ्काबाट स्नातकोत्तर गर्नुभएका ३१ वर्षीय समरेन्द्र डब्लुडब्लुएफका कन्सल्टेन्ट हुन् ।