प्रदेश 1

विपन्न परिवारलाई दशैँमै नयाँ पक्की घर

भद्रपुर । भद्रपुर नगरपालिकाले दशैँको अवसर पारेर अतिविपन्न सन्थाल परिवारलाई नयाँ पक्की घर दिएको छ ।
भद्रपुर–१ को बाहाटोलका १० घर सन्थाल समुदायलाई पक्की घर दिइएको हो । दुई शयनकक्ष, एउटा भान्छाकोठा, शौचालय र बरण्डासहित रु चार लाख २६ हजारका दरले घर निर्माण गरिएको नगरपालिकाका इञ्जिनीयर योगेन्द्र रञ्जितकारले बताए । उनका अनुसार विपन्नताको आधारमा छनोट भएका सन्थाल परिवारलाई घर निर्माण गरी दशैँको अवसर पारेर हस्तान्तरण गरिएको हो ।

भद्रपुरको वडा नं १ र ३ मा यस वर्ष २४ घर निर्माण गरिएको भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रा श्रेष्ठले बताए । उनले बाँकी १४ घरको समेत निर्माणकार्य सकिनै लागेकाले तिहारअघि नै अन्य विपन्न परिवारलाई हस्तान्तरण गरिने जानकारी दिए ।
वषौँदेखि माटो र खरको घरमा जीवन गुजार्दै आएका सन्थाल समुदाय दशैँको बेला नयाँ पक्की घरमा बस्न पाएपछि खुसी भएका छन् ।