समाचार

फूलपातीमा पनि सफाइ अभियान जारी

काठमाण्डौ । नेपालीको महान् पर्व बडा दशैँको फूलपातीका दिन पनि वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानले निरन्तरता पाएको छ । वाग्मती सफाइ महाअभियानको ३३४औँ हप्तामा गुह्येश्वरी अघिको नदी किनारमा सफाइ गरियो । उन्नाइस संस्थाका २५० अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

सफाइमा तीनै सुरक्षा निकायको पनि सक्रियता थियो । प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ र काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारको समेत सभागिता रहेको सफाइ अभियानपछि बडा दशैँका अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा रुद्रमती, विष्णुमती, तिलगङ्गा, सुन्दरीघाट, आलोकनगर, चक्रपथको उत्तरखण्डलगायत सफाइ अभियानका अभियानकर्मीको पनि सहभागिता थियो । सो अवसरमा अमेरिकाको शिकागो शहरबाट आउनुभएका चन्द्रप्रकाश चटौतले विष्णुमती सफाइ अभियानलाई सफाइ सामग्री हस्तान्तरण गरेको थियो ।

यसैगरी मुहानदेखिकै वाग्मती सफाइ अभियान चलाइएको वाग्मती सुन्दरता सरोकार मञ्चले गोठाटार पुलमा सफाइ गरेको थियो । सफाइमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत पनि सहभागी हुनुहुन्थ्यो । कुहिने फोहरलाई खाडल खनेर गाडी नकुहिने फोहर नगरपालिकाले व्यवस्थापन गरिएको थियो । सफाइपछि बडादशैँको अवसरमा शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

चक्रपथ पश्चिमखण्ड सफाइको ११३औँ हप्तामा सीतापाइलाचोकमा सफाइ गरियो । पचहत्तर अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक ट्र्याक्टर फोहर व्यवस्थापन गरिएको थियो । विसं २०७० जेठ ५ गतेदेखि तत्कालीन मुख्सचिव लीलामणि पौडेलको सक्रियतामा वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ जागरण फैलिएको छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हाल देशभरका १०५ भन्दा बढी स्थानमा जनचेतनामूलक सफाइ शुरु गरिएको छ ।