कर्णाली प्रदेश

बुलबुले पार्कमा सुविधा सम्पन्न शौचालय

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रमुख पर्यटकीय गन्तव्य बुलबुले पार्कमा सुविधासम्पन्न शौचालय निर्माण गरिएको छ । एसएनभी नेपालको सहयोग तथा स्थानीय गैरसरकारी संस्था सुन्दर नेपालको सहजीकरणमा महिला र पुरुषका लागि अलग–अलग शौचालयको निर्माण गरिएको हो ।

यहाँ शौचालय नहुँदा पार्क अवलोकन गर्नेहरुले कठिनाइ भोग्नुपरेको थियो । सुन्दर नेपालका कार्यकारी निर्देशक भूपेन्द्र कँडेलले स्वास्थ्य र स्वच्छता विकासका लागि नगर सरसफाइ कार्यक्रमअन्तर्गत रु एक करोड नौ लाख ६९ हजार ७३३ मा शौचालय निर्माण सम्पन्न भएको जानकारी दिए । संस्थाले सम्पन्न योजना सुर्खेत उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ ।

समितिका अध्यक्षसमेत रहनुभएका वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले शौचालय निर्माणले बुलबुले क्षेत्रको सुन्दरतामा ठूलो टेवा पुगेको बताए । “पार्क तथा ताल अवलोकनमा आउने पर्यटकलाई शौच कहाँ गर्ने भन्ने समस्या रहेन”, उनले भने, “शौचालय निर्माण हुनुले बुलबुलेको पूर्वाधार विकासमा ठूलो टेवा पुगेको छ, यसको सदुपयोग गरी पर्यटकलाई आर्कषित गराउन नगरपालिकाले आवश्यक ध्यान दिनेछ ।” अपाङ्गमैत्री शौचालयमा पर्याप्त पानी, साबुन, तौलियालगायतका सामग्री राखिएका छन् ।