पर्यटन/संस्कृति

आज वडादशैंको सातौं दिनः घरघरमा फूलपाती भित्र्याई मनाईदै

काठमाडौं । हिन्दु धर्मावलम्बीहको महान पर्व वडादशैंको सातौं दिन आज । सबै नेपालीले धुमधामका साथ आफ्नो घर–घरमा हिन्दु परम्परा अनुसार फूलपाती भित्रयाई मनाउँदै छन् ।

सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ । आजकै दिन हनुमानढोकास्थित दशैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्रयाउने चलन छ ।

फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका छ जना र त्यहाँबाट काठमाडौंको जमलसम्म छ जना ब्राह्मणले ल्याउने चलन छ । फूलपाती भित्रयाउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कल्स्यौडीहरु र साँस्कृतिक नाचगानसहितको लावालस्कर हनुमानढोकाबाट जमल प्रस्थान गर्ने गर्छ ।

आज कालरात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । घटस्थापनाका दिनदेखि दशैं शुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुन्छ । फूलपातीदेखि पूर्णिमासम्म सरकारी कार्यालय पनि बन्द हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरु मूलघरमा दुर्गा भवानीको टीका थाप्न जानेक्रम शुरु हुन्छ ।