अन्तर्राष्ट्रिय

सडक परियोजनाका लागि २३ करोड डलर दिन अफ्रिकी बैंकको स्वीकृति

एजेन्सी । अफ्रिकी विकास बैंकले केन्याको मुख्य राष्ट्रिय राजमार्ग निर्माणका लागि २३ अर्ब सिलिङ ९ करिब २३ करोड अमेरिकी डलर ऋण सहयोग गर्ने शुक्रबार घोषणा गरेको छ ।

बैंकका अनुसार पाँच वर्षे यस परियोजनाबाट ८४ किलोमिटर किनोल–सागाना–मारुआ राजमार्गको स्तरोन्नति गरिनेछ । यो परियोजना सन् २०२५ भित्र सम्पन्न हुनेछ । पछिल्ला वर्षहरुमा केन्यामा सडक सुधारका कार्यहरु तिब्र गतिमा भइरहेका र यो परियोजना पनि त्यसकै एक हिस्सा भएको बैंकले जनाएको छ ।

केन्यामा हालै एक हजार ३०४ किलोमिटर नयाँ सडक निर्माण गरिएको छ । ऋण सहयोगबाट निर्माण हुने राजमार्गले बन्दरगाह शहर मोम्बासा र नैरोबीलाई जोड्ने सडकको स्तरोन्नति हुने, तथा यसबाट अस्तव्यस्त ट्राफिकको अवस्था अन्त्य हुनेछ ।

यस परियोजनाको कूल लागत २८ करोड ३० लाख अमेरिकी डलर हो, जसमध्ये ८१ प्रतिशत अफ्रिकी विकास बैंकले ब्यहोर्ने छ भने बाँकी १९ प्रतिशत केन्या सरकारले लगानी गर्नेछ । यो अन्तर–अफ्रिकी महादेशीय राजमार्गकै हिस्सा भएकाले पनि यस राजमार्गको स्तरोन्नति अति आवश्यक देखिएको केन्या सरकारले जनाएको छ ।