अन्तर्राष्ट्रिय

इराकी प्रधानमन्त्रीद्वारा हिंसात्मक प्रदर्शन रोक्न आग्रह

एजेन्सी । इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले तीन दिनदेखि मुलुकभर जारी हिंसात्मक प्रदर्शन रोक्न प्रदर्शनकारीलाई शुक्रबार आग्रह गर्नुभएको छ । बेरोजगारी, सरकारी भ्रष्टाचार र आधारभूत सेवाको अभाव रहेको भन्दै इराकका प्रमुख शहर बजारमा तीन दिनदेखि हिंसात्मक प्रदर्शन जारी छन् ।

प्रदर्शनलाई नियन्त्रणमा लिनेक्रममा कम्तीमा ३८ जनाको मृत्यु भइसकेको छ । टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अब्दुल माहदीले प्रदर्शनका कारण आम सर्वसाधारणको मृत्यु भएकामा दुःख लागेको र शान्तिपूर्ण प्रदर्शनलाई उत्तेजित बनाउन एवं भडकाउन केही तत्वले भूमिका खेलेकामा खेद छ भने ।

प्रधानमन्त्री माहदीले भने तपाइँहरुको मागका बारेमा सरकारलाई राम्रोसँग थाहा छ । हामी सबै सम्भव उपायद्वारा जनताले उठाएका मागलाई सम्बोधन गर्न तत्पर छौं । उनले अति कमजोर वर्गका परिवारका लागि राहत कार्यक्रम ल्याउने वचनवद्धता प्रकट गरेका हुन् ।

प्रदर्शनका कारण एक हजार ६४८ जना घाइते भएका छन् । इराकी स्वतन्त्र मानव अधिकार आयोगका अनुसार इराकका बग्दाद र दक्षिणी इराकी शहरहरुमा भएका प्रदर्शनमा ३८ जनाको मृत्यु भएको पाइएको छ जसमा दुई जना सुरक्षाकर्मीको पनि ज्यान गएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा ल्याउने क्रममा ३६० जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । अधिकांश घाइतेहरु उपचार पछि घर फर्केका छन् ।