समाचार

मध्यपुरथिमिमा जलवायु कूटनीति सप्ताह शुरु :नगर प्रमुख श्रेष्ठ

भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा हरियाली मध्यपुर अभियान शुरु भएको छ । मध्यपुरथिमि नगरपालिकाको आयोजनामा ‘मानिस, पार्क र ग्रह’ शीर्षकमा रहेर यो अभियान शुरु भएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।

सेप्टेम्बर २४ देखि ६ अक्टुबरसम्मलाई जलवायु कूटनीतिको सप्ताहका रुपमा विभिन्न कार्यक्रम गरी मनाउने क्रममा युरोपेली युनियन (इयु) ले मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा अभियान शुरु गरेको उनले जानकारी दिए । इयूले विश्वभरनै जलवायु कूटनीति सप्ताह मनाउन शुरु गरेकोमा मध्यपुरथिमिसँगको सहकार्यमा वृक्षरोपण गरेर नेपालमा यो अभियान शुरु गरेको हो ।

नेपालस्थित इयू दूतावासका भेरेनिका कोडीले बिरुवा रोपेर मध्यपुरथिमि नगरलाई हरियाली बनाउने अभियान शुरु गर्नुभएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । नगरप्रमुख श्रेष्ठले इयूसँगको सहकार्यमा खाली क्षेत्रमा पर्यावरण संरक्षणको कार्य शुरु भएको बताउँदै आगामी दिनमा विकास निर्माणलगायतका मानवीय कार्यमा समेत सहकार्य गरेर अघि बढ्ने बताए ।

बेवारिसे सडक मानवमुक्त बनाउने अभियान शुरु

भक्तपुरलाई बेवारिसे सडक मानवमुक्त बनाउने अभियान सुरु भएको छ । अभियानका क्रममा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले मानव कल्याण समाज (सेवा घर) लाई आर्थिक तथा लत्ताकपडासहित सहयोग हस्तान्तरण गरे ।

भक्तपुरलाई सडक मानवमुक्त बनाउने मुख्य उद्देश्यका साथ चाँगुनारायण नगरपालिकामा सञ्चालनमा रहेको उक्त सेवा घरलाई सांसद बस्नेतले आफ्नो तर्फबाट दशैँ खर्चस्वरुप रु १० हजार, इजरायलमा बसोवास गर्ने नेपालीको संस्था सलोम नेपाल मुभमेन्ट सोसाइटीद्वारा उक्त सेवा घरलाई रु एक लाख ३५ हजारको चेक संस्थाकी अध्यक्ष सुमित्रा चौलागाईंलाई हस्तान्तरण गरेको हो ।

नेकपाकी नेत्री तथा अखिल नेपाल महिला सङ्घ भक्तपुर क्षेत्र नं २ की अध्यक्ष हीरामाया शेर्पाले सेवाघरमा रहेको अनाथ, असाह्य मानवका लागि लत्ताकपडासहितको सहयोग प्रदान गरे ।

कार्यक्रममा सांसद बस्नेतले भक्तपुरमा मानवताको विजारोपण मानव सेवा घरले नै गरेको चर्चा गर्दै भक्तपुरलाई अब सडक मानवमुक्त जिल्ला घोषणा गर्न कुनै समस्या नहुने बताए । उनले भक्तपुरमा सडक मानवमुक्त बनाउने पहिलो अभियानकर्ता संस्थाको रुपमा मानव कल्याण सेवा घर भएको बताउँदै उक्त संस्थाले सडक मानवको सवालमा गरेका कार्य अतुलनीय रहेको बताए ।

संस्थाका अध्यक्ष चौलागाईंले विगत २६ औँ दिनदेखि नियमित रुपमा सडक मानवलाई प्रत्येक राति उद्धारका कार्य गर्दै आइरहेको बताउँदै आगामी २५ गते सामूहिक दशैँको टीका लगाउने कार्यक्रम रहेको जानकारी गराए । स्थापनाको करीब डेढ वर्षमा सेवा घरले भक्तपुर जिल्लाभित्रका १५० जनालाई उद्धार गरी पारिवारिक स्नेहसहितको सेवा र ६० जनालाई पारिवारिक पुनर्मिलनसमेत गराइसकेको छ ।

सेवा घरले भक्तपुरको सडकमा रहेको करीब ९५ प्रतिशत बेवारिसे मानवको उद्धार गरिसहेको दाबी गरेको छ भने हाल सेवा घरमा ७० जनाले सेवा पाइरहेको छ ।