पर्यटन/संस्कृति

असोज २४ र २५ अन्तर्राष्ट्रिय तमु सम्मेलन हुने

काठमाडौँ । आदिवासी तमुहरूको छाता सङ्गठन तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा तमुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

छोंज धिंले शुक्रवार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार यही असोज २४ र २५ गते हुने अन्तर्राष्ट्रिय सम्मेलनमा हालसम्म १७ वटा देशका प्रतिनिधिहरूले सहभागी हुने निश्चित भएको छ । थप देशबाट पनि सहभागी आउने सम्भावना रहेको आयोजकको भनाई छ ।

छोंज धिंका अध्यक्ष रेसम गुरुङले दिएको जानकारी अनुसार सम्मेलनले विश्वभर छरिएर रहेका तमुलाई एकताबद्ध बनाउने, तुमहरुबीच भाइचाराको सम्बन्ध स्थापित गर्ने र तमु समुदायको संस्कार संस्कृतिको संरक्षण र संवर्द्धनका लागि सचेतना जगाउने प्रमुख उद्देश्य राखेको छ ।

तमुहरूको मूल थलो गण्डकी प्रदेश भए पनि हाल नेपाल भरी मात्र होइन, विश्वका धेरै मुलुकहरूमा स्थायी र अस्थायी बसोबास गर्दै आएका छन् । विशेष गरेर तमुहरू नेपाल बाहिर भारत, भुटान, बर्मा, बेलायत, मलेसिया, सिंगापुर र जापानमा बस्दै आएका छन् ।

सम्मेलन काठमाडौँको राष्ट्रिय सभागृहमा हुने कार्यक्रम रहेको छ । उद्घाटन सत्रपछि दुई दिन ‘एकता, पहिचान, अस्तित्व र समृद्धि’ को छुट्टछुट्टै शीर्षकमा कार्यशाला हुनेसञ्चालन हुनेछ । आयोजकका अनु्सार साँझमा भने तमुहरूको संस्कार, संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम देखाइने छ ।