समाचार

जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते

कञ्चनपुर । जङ्गली बँदेलको आक्रमणमा परेर आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका चार जना घाइते भएका छन् । धानबाली खान दिउँसै खेतमा छिरेका बँदेललाई कुकुरले लखेटेर मार्न थालेपछि बचाउन गएका प्रमानन्द बुढा क्षेत्री, सुदर्शन ठगुन्ना, धीरेन्द्रबहादुर खत्री र अमृता बोहरा घाइते भएका छन् ।

घाइते चार जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको वडाध्यक्ष बहादुर महराले बताए। “बँदेललाई बचाउन जाँदा बँदेलले उल्टै आक्रमण गर्दा पाँच जना घाइते भएका छन्”, वडाध्यक्ष महराले भने, “कुकुरको आक्रमणबाट दुई वटा वयस्क पोथी बँदेलको मृत्यु भएको छ भने दुई वटाको उद्धार गरी नजिकैको वैजनाथ सामुदायिक वनमा सुरक्षितरुपमा छाडिएको छ ।” मरेका बँदेललाई सरोकारवालाको रोहवरमा कागजात तयार गरी खाल्डोमा हालेर पुरिएको उनको भनाइ छ ।

भित्र्याउनै लागेको धानबाली बँदेललगायतका जङ्गली जनावरले खान थालेपछि स्थानीय किसानले सास्ती खेप्न बाध्य भएका छन् ।