बाग्मती

नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव

बेत्रावती । मागअनुसार प्राप्त नहुँदा नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको रु दुई करोड नयाँ नोटले माग धान्न नसकेको हो ।

बैंकको शाखा कार्यालय विदुरबाट सोमबारदेखि बुधबारसम्म नयाँ नोट वितरण गर्ने जनाए पनि मागअनुसार नोट दिन नसकेको शाखा प्रमुख सुजन राजकर्णिकारले जानकारी दिए । उनको अनुसार नुवाकोटका लागि नेपाल राष्ट्र बैंकसँग रु तीन करोड माग गरे पनि त्यो अनुसार प्राप्त नहुँदा अभाव देखिएको हो ।

“नयाँ नोटले माग धान्न नसकेपछि सटही गरिएको पुराना नोटका समेत अभाव भएको छ ।” शाखा प्रमुख राजकर्णिकारले भने, “दशैँको समयमा नयाँ नोट नै प्रयोग गर्नुपर्छ भन्ने भावना हटाउन जागरुक हुनुपर्ने देखिएको छ ।”

नयाँ नोट सटहीको जिम्मेवारी पाएको नेपाल बैंकले सीमित रकम आएको भन्दै अन्य बैंक तथा वित्तीय संस्थालाई रकम उपलब्ध नगराउँदा सेवाग्राही थप समस्यामा परेका छन् । दशैँको समयमा बैंकमा हुने चापले अन्य बैंकमा खाता भएका सेवाग्राही पैसा झिकेर सटहीका लागि नेपाल बैंक पुगे पनि त्यहाँ रकम नपाउँदा निरास भएका छन् ।