शिक्षा

दुर्गम क्षेत्रका विपन्न र सडक बालबालिकाका लागि याङवरकमा आवासीय विद्यालय

फिदिम । पाँचथरको याङवरक गाउँपालिकाले दुर्गम क्षेत्रका विपन्न तथा सडक बालबालिकाका लागि आवाशीय विद्यालय सञ्चालनमा ल्याउने भएको छ । गाँउपालिकाको वडा नं १ च्याङथापूमा रहेको विष्णु माध्यमिक विद्यालयमा आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो ।

गाउँपालिकाले विष्णु माविकै छेउमा एक घर भाडामा लिई विद्यार्थीलाई आवासको व्यवस्था गरेको छ । आवाशमा विद्यार्थीका लागि आवश्यक सम्पूर्ण सामग्रीको तर्जुमा गाँउपालिका स्वयंले गरेको छ । तिहारको आसपासमा उक्त आवासीय कक्षा उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारी गरिएको याङवरक गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी योङहाङले जानकारी दिएका छन् ।

कक्षा १ देखि ५ सम्म सञ्चालन हुने आवासीय कक्षामा तीन प्रकारका विद्यार्थीले आवास र सम्पूर्ण प्रबन्धसहितको शिक्षा प्राप्त गर्नेछन् । गाउँपालिकाले पहिलो प्राथमिकतामा यहाँका दुर्गम बस्तीका बालबालिकालाई राखेको छ । जसअनुुसार याङवरक गाउँपालिका–२ बर्मेका पाँच बालबालिका उक्त आवासमा रहनेछन् । मानव बस्तीबाट आठ घण्टाको पैदल दूरीमा रहेको २५ परिवार रहेको यस बस्तीमा तिम्बुपोखरी आधारभूत विद्यालय सञ्चालनमा छ ।

यस्तै गत असार १० गते पहिरो गई घरपरिवार विस्थापित भएका याङवरक गाउँपालिका–२ चिङ्मा बस्तीका तीन बालबालिकासमेत आवासीय विद्यालयमा रहने भएका छन् । उनीहरु त्यहाँ रहेको कृष्ण आधारभूत विद्यालयमा अध्ययनरत थिए । पहिरोले उक्त वस्ती प्रभावित छ ।

यस्तै निकै दुर्गम मानिएको अर्को बस्ती खर्कगाँउका छ विद्यार्थी पनि आवासमा रहने भएका छन् । याङवरक गाउँपालिका– १ मा पर्ने उक्त स्थानमा जनचेतना आधारभूत विद्यालय सञ्चालनमा थियो । यी तीन वटै विद्यालयमा अब बालविकास केन्द्र सञ्चालन हुने याङवरक गाउँपालिकाको शिक्षा विकास एकाइका प्रमुख रामप्रसाद ढकालले जानकारी दिए ।

आवासीय विद्यालयमा गाँउपालिकाभित्र जन्मेका सडक बालबालिकालाई आवाससहित पठनपाठन गराउने तयारी गरिएको छ । सहाराविहीन सडक बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न उनीहरुको आधारभूत शिक्षाको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले लिने भएको हो ।

यस्तै गाउँपालिकाले अतिविपन्न परिवारका बालबालिकालाई समेत आवासमा राखेर अध्ययन गर्ने अवसर प्रदान गर्ने भएको छ । “आर्थिक अभावकै कारण शिक्षा लिने अवसरबाट बञ्चित हुनुपर्ने, बाबुआमा जताजता जान्छन् उतै गएर खानु बस्नुपर्ने अवस्थाका बालबालिकाले समेत सहजरूपमा शिक्षा लिन पाउन भन्ने उद्देश्यसहित यस्तो प्रबन्ध गर्न लागिएको हो”, गाउँपालिका उपाध्यक्ष योङहाङले भन्नुभयो ।

पहिलो चरणमा गाउँपालिकाका छ वडाबाट दुई÷दुईका दरले अतिविपन्न बालबालिकाको छनोट गरिने उनले बताए । आवासीय विद्यालय सञ्चालनका लागि आवश्यक सामग्री खरीद, सहयोगी कार्यकर्ता नियुक्तिको सम्पूर्ण प्रक्रिया पूरा भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आवासीय विद्यालय सञ्चालनका लागि चालू आर्थिक वर्षमा रु १० लाख बजेट छुट्याएको छ ।

गाउँपालिकाको शिक्षा ऐन २०७६ र उक्त ऐनको दफा ६० तथा उक्त दफाको उपदफा २, ३ र ६ बमोजिम आवासीय छात्रवृत्ति सञ्चालन तथा व्यवस्थापन कार्यविधिका आधारमा उक्त आवासीय विद्यालय सञ्चालन हुने शिक्षा विकास एकाइका प्रमुख ढकालले जानकारी दिएका छन् । अहिले २५ विद्यार्थीबाट शुरु गरी आगामी दिनमा बढीमा ५० सम्म विद्यार्थीलाई आवासीय विद्यालयमा राख्न सकिने व्यवस्था गरिएको ढकालले बताए ।

यस्तै अहिले कक्षा ५ सम्म मात्रै विद्यार्थीलाई आवासमा राखी पठनपाठन गराउने भनिए पनि सडक बालबालिका तथा अतिविपन्न परिवारका बालबालिकाका कारण भावी दिनमा कम्तीमा आधारभूत तहसम्म सञ्चालन गर्नुपर्ने हुनसक्ने ढकालले बताएका छन् ।

पाँचथरमा सदरमुकामका तीन माध्यमिक विद्यालयमा दृष्टिविहीन, सुस्तमनस्थितिका तथा कान नसुन्ने बालबालिकालाई आवासीयरूपमा पठनपाठन गराइँदै आइएको छ । यस अतिरिक्त अन्य विद्यार्थीलाई आवासमा राखेर अध्ययन गर्ने प्रबन्ध मिलाउने याङवरक गाउँपालिका नै पाँचथरको पहिलो स्थानीय तह बनेको छ ।