मनोरञ्जन

थारु चलचित्र ‘भुरभुरा रहर’ को ‘च्यारिटी सो’ प्रदर्शन

बर्दिया । थारु भाषाको चलचित्र ‘भुरभुरा रहर’ ‘च्यारिटी सो’ मार्फत आज पहिलोपटक प्रदर्शन गरिएको छ । बढैयाताल गाउँपालिका–८ स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा चलचित्र प्रदर्शन गरिएको हो ।

थारु समुदायकी एक किशोरीको रहर पूरा नहुँदाको मनोवैज्ञानिक सेरोफेरोको विषय वस्तुमा केन्द्रित रहेर चलचित्र निर्माण गरिएको छ । ‘भुरभुरा रहर’ को अर्थ हावामा उड्ने रहर भन्ने बुझाउँछ । थारु समुदायमा दशैँ पर्वमा एक महीनासम्म नाचिने सखिया नाचमा थारु समुदायका किशोरी किशोरीहरु विशेष तयारीका साथ सहभागी हुन्छन् । गरीबीका कारण आवश्यक सामग्री नहुँदा साथीबीचमा आफूलाई मनोवैज्ञानिकरूपमा कमजोर महसुस गर्दछन् ।

थारु समुदायको रीतिरिवाज, वेषभूषा, धर्म संस्कृतिका साथै थारुको सामाजिक, सांस्कृतिक र आर्थिक स्थिति विषय समेटेर चलचित्र चलचित्र निर्माण गरिएको निर्देशक मदन चौधरीले बताए । निर्देशक चौधरीले थारु भाषामा पछिल्लो समयमा बनेका चलचित्रमध्ये यसलाई सबैभन्दा उत्कृष्ट बनाउन आफूहरुले निकै मेहनत गरेको जिकिर गरे ।
रु ५० लाख लगानीमा निर्माण भएको उक्त चलचित्र बर्दियाको मधुवन नगरपालिका–१ को पत्थरबोझीस्थित थारु गाउँमा छायाङ्कन गरिएको थियो । रङ्गकर्मी तथा नाटककार सुशील चौधरीको लेखन रहेको यो चलचित्र यसअघि मण्डला थिएटर काठमाडौँमा नाटकका रूपमा एक सातासम्म मञ्चन भएको थियो । थारु जातिको सांस्कृतिक तथा वेषभूषा, परम्परा र चालचलनलाई प्राथमिकता दिएर चलचित्रको कथा लेखिएको लेखक चौधरीले जानकारी दिए ।