गण्डकी प्रदेश

स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको स्वास्थ्य सेवा केन्द्र भवनको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आज शिलान्यास गरे ।
नगरप्रमुख न्यौपानेले यसै आर्थिक वर्षभित्र वडा कार्यालय भवन निर्माण गरिने बताउँदै वडा भवन निर्माणमा सहमति नहुँदा दुई वर्ष ढिलाइ भएको बताए।

अब चारकुने क्षेत्रमै वडा कार्यालय भवन बन्ने सहमति अन्तिम चरणमा पुगेको छ । उनले भने भवन निर्माणको लागि नगरपालिकाद्वारा रु ५० लाख विनियोजन गरी सकिएको छ ।

सङ्घीय सरकारको सहयोगमा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण हुन लागेको भए पनि मन्त्रालयबाट पैसा नआएकाले हाललाई व्यास नगरपालिकाले आन्तरिक स्रोतबाट सहयोग गर्दै आएको उनले बताए । नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले सरकारले स्वास्थ्य क्षेत्रमा ७८ अर्ब विनियोजन गरी सर्वसाधारणमा स्वास्थ्यको पहुँच पुर्‍याउने लक्ष्य राखेको हुँदा स्वास्थ्य सेवा केन्द्र स्थापना कार्यलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका सदस्य केशबहादुर सुनारले विकास निर्माणका क्षेत्रमा राजनीतिकरण गर्न नहुने उल्लेख गर्दै सहमति र समझदारीमा काम गर्नुपर्नेमा जोड दिए ।

करीब एक रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवनको कूल लागत रु ४२ लाख ५५ हजार ३१८ रहेको छ । एक ढलानको उक्त भवनमा तीनवटा कोठा रहने र निर्माणको ठेक्का अन्बेषा कन्सट्रक्सन म्याग्देले पाएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिए । भवन निर्माण एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।