समाचार

महरा बलात्कार काण्ड रिपोर्टिङ गर्ने संपादक सिवाकोटिमाथि नेकपाको आक्रमण प्रयास

काठमाडौं । नेकपाका नेता कृष्णबहादुर महराले गरेको दुर्व्यवहारको समाचार प्रकाशित गरेको हाम्राकुरा डटकम तथा उक्त अनलाईनका सम्पादक अजयबाबु शिवाकोटीमाथि गम्भिर सुरक्षा चुनौति देखिएको बताईएको छ। सम्पादक शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको जनाईएको छ ।

समाचार सार्वजनिक भएकै दिनदेखि सम्पादक शिवाकोटीलाई पछ्याउने र निगरानी गर्दै आएका केहि समूहले अस्वाभाविक गतिविधि समेत बढाउँदै गएको हाम्राकुराले बताएको छ । हाम्राकुरालाई ठीक लगाउनु पर्छ भन्ने केहि समूह आपराधिक नियतका साथ सक्रिय भएको जानकारी पनि हामीले पाएको बताईएको छ ।

बानेश्वरका दुई रेष्टुरेण्टमा मंगलवार र बुधबार केहि समूहले हाम्राकुराको कार्यालय तथा सम्पादक शिवाकोटीमाथि क्षति पुर्‍याउने नियतका साथ योजना बनाएको समेत जानकारीमा आएको उक्त अनलाईनले उल्लेख गरेको छ । ती दुई रेष्टुरेण्टमध्ये एक सत्तारुढ नेकपाकै सांसदको समेत भएको स्रोतले जनाएको छ । समाचार सार्वजनिक हुनुअघि नै निवर्तमान सभामुख महराले समाचार प्रकाशित नगर्न दवाव दिएका थिए ।

उनले विभिन्न व्यक्तिहरुलाई समेत लगाएर समाचार रोक्ने आशयले कुरा गराएको बताईएको छ । उनीहरु पनि घटनाको वास्तविकता थाहा पाएपछि पछि हटेका थिए। घटनाको विषयमा महराकै प्रतिक्रिया लिने क्रममा उनीसँग कुरा भए लगत्तै समाचार रोकाउन उनले विभिन्न व्यक्तिहरुलाई परिचालित गरेका थिए ।

घटना पछि महराका छोरा राहुल महराले हतियार सहितको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै यस घटनासँग जोडिएका पक्षहरुलाई धम्क्याउने प्रयास भएको जनाइएएको छ । साथै हाम्राकुरालाई बदला लिन सकिन्छ कि भन्ने केहि समूह पनि सक्रिय भएको जानकारी पनि पाएको बताईएको छ ।

समाचार सार्वजनिक भएकै दिन पनि मोटरसाइकलमा पछ्याइएको कारण घरसमेत जान नसकेका सम्पादक शिवाकोटी सो रात अन्यत्रै सुरक्षित स्थानमा बसेका थिए । त्यसपछि पनि उनीमाथि नगरानी राखिएको जानकारी अनुभूति गर्दै आएको बताईएको छ ।  हाम्रो स्रोतबाट प्राप्त यी सबै जानकारी हाम्राकुरा टीमले नेपाल प्रहरीलाई जानकारी गराएको छ । प्रहरीका अधिकारीहरुले यस बारेमा अनुसन्धान गर्दै हाम्राकुराको कार्यालय, सम्पादक शिवाकोटी र उनको घर क्षेत्रमा सुरक्षा बढाउने प्रत्याभूति दिएको छ ।

विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु, सामाजिक कार्यकर्ताहरु र नागरिक तहबाट हाम्राकुरा तथा सम्पादक शिवाकोटीको सुरक्षाको विषयमा राखिएको चासोप्रति उक्त अनलाईनले कृतज्ञता ज्ञापन पनि गरेको छ । आफै संपादक रहेका उक्त अनलाईनले समाचार प्रकाशन गर्नुका साथै सुर्य खबरलाई बताएका छन् ।