समाचार

दशैँको समयमा मापसे गरेर यात्रु बोक्ने चालक पक्राउ

काठमाडौं । दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ । नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ मापसे गरेर यात्रु बोक्ने तीन चालकलाई प्रहरीले पक्राउ गरेको छ । एक चालक भने फरार रहेको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले जनाएको छ ।

ट्राफिक प्रहरीले विभिन्न सङ्घसंस्थाको सहकार्यमा चाडपर्वलाई लक्षित गरेर जनचेतनामूलक अडियो सञ्चालनमा ल्याए पनि मापसे सेवन गरेर सवारी चलाउने कार्य भने रोकिएको छैन । पक्राउ पर्नेमा ना५ख १३२१ नंका चालक रोशन विश्वकर्मा, ना५ख ७३६९ नं बसका चालक शिवजी गिरी, बा४ख ९०६० नंका चालक रितेश नेपाल रहेका छन् । ना८ख ७२९८ नंका चालक भने फरार रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

वृत्तका प्रमुख, प्रहरी निरीक्षक मुनेन्द्र थापाले दशैँको समयमा मापसेबाट हुने दुर्घटनामा कमी ल्याउन हरेक दिन नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सवारी साधनलाई मापसे जाँच गर्ने गरेको बताउनुभयो । “दशैँ लागेसँगै हरेक दिन नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने यात्रुबाहक सवारी साधनका चालकलाई जाँच गरेका छौँ, बुधबार मात्र चार चालकलाई मापसे सेवन गरेको भेट्टायौँ”, उहाँले भन्नुभयो ।

पक्राउ पर्नेलाई कानूनबमोजिम कारवाही गरिने प्रहरी निरीक्षक थापाको भनाइ छ । नयाँ बसपार्कबाट हाल दैनिक ७०० को हाराहारीमा देशका विभिन्न भागमा सार्वजनिक सवारी साधन आवतजावत गर्ने गरेका छन् । मापसे गरेर चलाएको सार्वजनिक बसमा भने अर्को चालक खोजेर यात्रुलाई गन्तव्यस्थलसम्म पठाउने काम गरिएको छ ।

नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुवँर चाडवाडको समयमा हुने दुर्घटना कमी गर्न हरेक सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षण गरिएको बताए । “नयाँ बसपार्कबाट छुट्ने अधिकाशं सार्वजनिक सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर उपत्यका बाहिर पठाउँदै आएका छौँ”, कुँवरले भने ।
ट्राफिक प्रहरीले चाडवाडको सुरक्षालाई ध्यानमा राखेर उपत्यकाका ३०० स्थानमा सवारी साधन जाँच गर्दै आएको छ । प्रत्येक वर्ष चाडवाड मनाउन २५ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिलेसम्म १२ लाख यात्रु दशैँ मनाउन घर गइसकेका छन् ।

नेपाल प्रहरीले उपत्यकामा हुने टिकट कालोबजारीलाई रोक्न उपत्यकाका मुख्य बसपार्कहरुमा सादा पोशाकमा प्रहरीसमेत परिचालन गरेको छ । सादा पोशाकमा प्रहरी परिचालनसँगै टिकटमा हुने अनियमिततामा कमी आउने ट्राफिक प्रहरीको विश्वास छ ।