सूचना प्रविधि

‘फोरजीबाट उपभोक्तालाई राहत मिलेको छ ‘ :मुख्यमन्त्री शेरधन राई

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग प्रत्यक्ष संवाद गरेर नेपाल टेलिकमको पूर्व क्षेत्रको इन्टरनेट सेवा फोरजीको आज यहाँ शुभारम्भ गरेको छ । पूर्वनिर्धारित समय बेलुका ५ः२० को समयमा प्रधानमन्त्री ओलीले मुख्यमन्त्री शेरधन राईसँग सामान्य कुराकानी गर्दै फोरजी सेवा शुभारम्भ गरेको हो ।

मुख्यमन्त्री राईले नेपाल टेलिकमको तीव्र गतिमा सञ्चालन हुने फोरजीबाट उपभोक्तालाई राहत मिलेको बताएको छ । उनले आफू सञ्चार तथा तथा सूचना प्रविधिमन्त्री भएकै समयमा फोरजी सेवा सञ्चालन गर्ने निर्णय गरेको स्मरण गराउँदै नेपाललाई डिजिटल प्रविधिमा लैजान यो सेवाले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राईले यो सेवा सञ्चालन गर्दा आम उपभोक्तामा सेवा प्रवाहमा कुनै समस्या हुन नदिन टेलिकम संवेदनशील हुने पर्ने चर्चा गर्दै डिजिटल प्रविधिको प्रयोगबाट प्रदेश नं १ का सबै शिक्षा, स्वास्थ्य र कृषि जस्ता सरकारी निकायका प्रमुखहरुलाई जवाफदेही तथा उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्ता गरे ।

नेपाल टेलिकमका पूर्वाञ्चल निर्देशक रामप्रसाद शर्मा र प्रबन्धक राजेन्द्र महर्जनले आम उपभोक्ताको मागलाई यो सेवाले उत्साहित बनाएको चर्चा गरे ।

पूर्व क्षेत्रमा नेपाल टेलिकमका उपभोक्ता करीब १४ लाख रहेको र यसका लागि टेलिकमले १३७ नयाँसहित ८५३ स्थानमा टावर जडान गरेको छ । विगतमा तेस्रो पुस्ताका भनिएको थ्रिजीको तीव्रता ३० एमबिपिएस थियो भने अहिले फोरजीको तीव्रता २५० एमबिपिएस रहने इन्जिनीयर सुजित मल्लले जानकारी दिरे ।