समाचार

पहिलो पटक सिसडोल दशैँको मुख्य दिनमा पनि खुला हुने

काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले नेपालीहरुको महान् पर्व बडादशैँको अवसरमा पनि नियमितरूपमा फोहर सङ्कलन गर्ने भएको छ । केही दिनअघि सम्म हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलसम्म जाने बाटो मर्मतको कार्य हाल नभए पनि बाटो खुला भएकाले र पहिलो पटक सिसडोल दशैँको मुख्य दिनमा पनि खुला हुने भएपछि नियमित फोहर उठ्ने भएको हो ।

दशैँको मुख्य दिन कर्मचारीलाई आलोपालो खटाएर र साँझ वा बिहानको समय मिलाएर फोहर उठाउने कामपाको योजना रहेको छ । कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सङ्कलन भएको फोहरलाई ओखरपौवा ल्याण्डफिल्ड साइटमा नै पु र्‍याइनेछ ।

“यस वर्ष हामीले सरसफाइ गर्दै पर्व मनाउने निधो गरेका छौँ, योजनाअनुसार काम भयो भने दशैँका दिन ल्यान्डफिल्ड साइटमा फोहर पुगेको पहिलो वर्ष हुनेछ”, उनले भने, “हामी महानगरवासीसँग आग्रह गर्न चाहन्छौँ, तपाईंलाई स्वच्छ पर्व मनाउने प्रयासमा छौँ । तपाईं पनि कम फोहर उत्पादन गरेर हामीलाई सहयोग गर्नुहोस् ।”

कामपाको फोहर सङ्कलनमा साझेदारी गर्दै आएका निजी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरुले पनि नियमित फोहर उठाउने भएका छन् । गैसस महासङ्घका अध्यक्ष टीकाराम दाहाल भने, “विगतका वर्षहरुमा फूलपातीदेखि द्वादशीका दिनसम्म ल्यान्डफिल्ड साइट बन्द हुने गथ्र्यो, ती दिनमा हामीले पनि कर्मचारीलाई बिदा दिने गरेका थियौँ, यस वर्ष साइट सञ्चालन भए हामी पनि काम गर्छौँ ।” उता फोहरमैला व्यवस्थापन सङ्घ स्वमानका अध्यक्ष धु्रव आचार्यको भनाइ पनि उस्तै छ ।

दशैँको अवधिमध्ये फूलपाती र अष्टमीका दिन धेरै फोहर उत्पादन हुन्छ । शहरमा उत्पादन भएको फोहर महानगरले टेकु ट्रान्सफर स्टेशनमा जम्मा गरेर सङ्कलन फोहर सिसडोल ल्यान्डफिल साइटमा अन्तिम व्यवस्थापनको काम गर्दै आएको छ । विगत १३ वर्षदेखि कामपाले सिसडोलमा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन गर्दै आएको छ ।