समाचार

अन्तर्राष्ट्रिय सम्मेलनको सुरक्षाका विषयमा तीनै जिल्लाका सुरक्षा प्रमुखसँग छलफल

काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले आगामी कात्तिक २६ देखि २८ गतेसम्म हुन लागेको आप्रवासी कामदारहरुको अन्तर्राष्ट्रिय सम्मेलनको सुरक्षा तयारीको विषयमा तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग छलफल गरेको छ ।

आयोगले आज ललितपुर जिल्लाका प्रजिअ भगीरथ पाण्डेय, भक्तपुर जिल्लाका प्रजिअ नारायणप्रसाद भट्ट, काठमाडौँ जिल्लाका सहायक प्रजिअ गौलोचन सैंजु, महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतम, नेपाली सेना मानव अधिकार निर्देशनालयका महासेनानी डा महेन्द्रजङ्ग शाहसँग सुरक्षाका तयारीका विषयमा छलफल गरेको हो ।

आयोगका सदस्य सुदीप पाठकको संयोजकत्वमा आयोजना गर्न लागिएको मूल सम्मेलनमा आप्रवासी कामदारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीहरुको सुरक्षा तथा अन्य सुरक्षा व्यवस्था सम्बन्धमा उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल भएको हो ।

आयोगका सदस्य पाठकले सम्मेलनमा मानव अधिकार राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी निकायका प्रतिनिधिहरु, विज्ञ र नागरिक समाजका प्रतिनिधिहरुसहित २० देशका ३९ जनाको सहभागिता सुनिश्चित भइसकेको जानकारी गराउँदै सम्मेलनमा सहभागी हुन आउने सम्पूर्ण विशिष्ट व्यक्तित्वहरुको सुरक्षा, आवागमन सुरक्षा तथा सम्मेलनस्थलको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरे ।