प्रदेश 1

पत्रकारको दशैँ शुभकामना

भद्रपुर । नेपाल पत्रकार महासङ्घ झापा शाखाले नजिकिरहेको विजया दशमी, दीपावली, नेपालसम्वत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

आज बिहान विर्तामोडमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश कमिटीका अध्यक्ष विक्रम लुइँटेलले पत्रकारलाई मर्यादित, उत्तरदायी र जिम्मेवार भएर पत्रकारिता गर्न आह्वान गरे ।

कार्यक्रममा संविधानसभा सदस्य प्रेम गिरीले पत्रकारलाई सत्य र तथ्यमा आधारित भएर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे । उनले सामाजिक सञ्जालमा रमाउनेभन्दा पनि पत्रकारलाई मर्यादित र व्यावसायिक भएर अघि बढ्न अनुरोध गरे।

नेपाली काङ्ग्रेसका जिल्ला सभापति उद्धव थापाले पत्रकारले दलीय स्वार्थबाट माथि उठेर समाचार लेख्नुपर्ने बताए । शाखाका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो ।