कर्णाली प्रदेश

चिकित्सक नहुँदा सेवा प्रभावित

सल्यान । सल्यान जिल्ला अस्पतालमा चिकित्सक नहुँदा सेवा प्रभावित हुन थालेको छ । अस्पतालमा चारजना चिकित्सकको दरबन्दी भए पनि एकजना मात्रै चिकित्सक कार्यरत हुँदा बिरामीको उपचारमा समस्या हुन थालेको छ ।

कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी भए पनि अहिले एकजना डाक्टरसहित १४ जना कर्मचारी मात्रै भएपछि अस्पतालमा कर्मचारी व्यवस्थापन गर्नसमेत कठिनाइ भएको अस्पतालले जनाएको छ । पन्ध्र श्याको अस्पताल अहिले ३७ श्ययामा सेवा विस्तार गरेको भए पनि दरबन्दी अनुसारका चिकित्सक नभएपछि सेवा नै प्रभावित भएको अस्पतालका प्रमुख डा अर्जुन बुढाले बताए।

“अस्पतालमा नवौं तहका एक जना चिकित्सकसहित चार जना डाक्टर हुनुपर्ने हो अहिले एकजना मात्रै चिकित्सक भएकाले उपचारमै समस्या हुन थालेको छ”, डा बुढाले भने । सल्यान जिल्ला अस्पतालमा सेवा विस्तार गरिएको भए पनि दरबन्दी अनुसारका कर्मचारी नहुँदा एउटै चिकित्सकले रातिसम्म ओपिडीमा काम गर्नुपर्ने बाध्यता रहेको चिकित्सक बुढाको भनाइ छ । “एउटै चिकित्सकले बहिरङ, आपत्कालीन सेवा दिनुपर्ने अवस्था छ यसले गर्दा बिरामी धेरैबेर कुर्नुपर्ने अवस्था छ”, डा बुढाले भने ।

अपस्तालमा उपचारका लागि दैनिक २०० देखि ३०० सम्म बिरामी आउँछन्, एउटा चिकित्सकले ओपिडीमा काम गर्ने कि, भिडियो एक्सरे गर्ने कि भर्ना भएका बिरामी हेर्ने रु”, डा बुढाले भने । अस्पतालमा सहज रुपमा सेवा प्रवाहका लागि कम्तीमा पनि चार जना विशेषज्ञ चिकित्सक हुनुपर्ने उनको भनाइ छ ।

अस्पतालमा कार्यरत कर्मचारीको समायोजनसमेत अन्यत्र भएकाले अस्पतालमा अझै सेवा प्रभावित हुने सल्यान जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दामोदर शर्माले जानकारी दिए ।” “अस्पतालमा दिनदिनै सेवा विस्तार भइरहेका छन् धेरै रोगको उपचारका लागि बाहिर जानुपर्ने अवस्था छैन तर विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ”, अध्यक्ष शर्माले भने “अहिले त दरबन्दी भन्दा आधा कर्मचारी छन् यसमा पनि समायोजनपछि अस्पतालमा एकजना पनि परेको छैन”, अध्यक्ष शर्माले भने । अस्पतालको समस्या धेरैपटक प्रदेश सरकारसँग राखेको भए पनि कुनै सुनुवाइ नभएको शर्माको भनाइ छ ।

सल्यान जिल्ला अस्पतालको समस्यालाई आफूहरुले गम्भीर रुपमा लिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर विश्वकर्माले बताए। “कर्णाली प्रदेशभरि नै सबै क्षेत्रका कर्माचारीको अभाव रहेको छ यसमा पनि स्वास्थ्य क्षेत्रमा अझै बढी समस्या छ”, सचिव विश्वकर्माले भने ।

सल्यानमा रहेका दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रमा समेत स्वास्थ्यकर्मीको अभाव भएकाले त्यहाँ पनि स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि पहल गर्ने सचिव विश्वकर्माको भनाइ छ । अस्पतालमा उपचारका लागि छिमेकी जिल्ला रोल्पा र पश्चिम रुकुमबाट पनि बिरामी आउने गरेका छन् । अहिले मौसम परिवर्तन हुने समय भएकाले पनि बिरामीको चाप बढेको अस्पतालले जनाएको छ ।