समाचार

वैकल्पिक पेशातर्फ माझी, मुसहर र बोटे समुदायः फेरिदै जिविकोपार्जन

कावासोती । नदीमा माछा मारेर आफ्नो जीविकोपार्जन गर्दै आएका माझी, मसुहर र बोटे समुदाय वैकल्पिक पेशातर्फ लाग्न थालेका छन् । माछा मारेर जीवनयापन गर्दै आएका उनीहरु अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

कावासोती नगरपालिका–१५ शेरगञ्जमा रहेको यो समुदाय अहिले व्यावसायिक तरकारी खेतीतर्फ लागेको छ । नदी तथा खोलामा माछा मारेर आफ्नो जीवनयापन गर्दै आएका उनीहरु आफ्नो परम्परागत पेशालाई परिर्वन गरी तरकारी खेतीतर्फ लागेका हुन् ।

माछा मारेरै जिन्दगी अब चल्छजस्तो लागेन, त्यसैले नयाँ पेशा गर्न थालेका छौँ”, सुकिया मुसहरले भने । माछा मारेर मुस्किले घर धान्नुपर्ने अवस्था आएपछि आफूहरु बाध्य भएर व्यावसायिक तरकारी खेतीमा लागेको उनले बताएका छन् । खोला तथा नदीमा पहिलाजस्तो माछा पाउनसमेत गाह्रो पर्ने गर्दा घर खर्च चलाउनसमेत धौधौ भएपछि आफूहरु वैकल्पिक पेशामा लागेको उनको भनाइ छ ।

माछा मारेर जिन्दगी चलाउन पनि धौधौ हुन थाल्यो, पहिलाजस्तो समय छैन, बालबच्चा पढाउनै पर्यो, अरु खर्च चलाउनै पर्यो”, सुकियाले भने त्यसैले विकप्ल अर्कै रोज्यौँ ।” प्रायः मध्यवर्ती क्षेत्रमा रहेका माझी, मुसहर र बोटे समुदाय नदी, खोला तथा वनमा आश्रित रहेका छन् ।

वनमा निगुरो टिपेर बेच्ने, खोला तथा नदीमा माछा मारेर बेच्ने उनीहरुको परम्परागत पेशा नै हो । अहिले यो समुदाय क्रमशः परिवर्तन हुँदै गएको छ । यहाँ रहेका १० घर माझी, मुसहर र बोटे समुदायले अहिले व्यावसायिक अग्र्यानिक तरकारी खेती शुरु गरेका छन् । झण्डै ७५ घर समुदाय रहेको यस टोलका अन्य व्यक्तिसमेत अन्य पेशा व्यवसाय गर्नतर्फ लागेका छन् ।

आफ्नै पुर्जा भएको जमीन नभए पनि मध्यवर्ती छेउमा रहेको जमीनमा अहिले सो समुदायले व्यावसायिक अग्र्यानिक खेती प्रारम्भ गरेका छन् । उनीहरुले अहिले काउली, बन्दागोभी, साग, टमाटर, भिण्डीलगायतका तरकारीका बीउको नर्सरी तयार पारेका छन् । यहाँ बनाइएका टनेलमा तरकारी लगाउनका लागि माटो तयार पारिएको छ ।

“अहिले नर्सरीमा बेर्ना तयार हुँदैछ, तरकारी लगाउने ठाउँ पनि तयारी बनाउँदैछौँ”, अर्का कृषक बुद्धिराम माझीले भने “पढेको केही छैन, अरु काम कहाँ खोज्नु, माछा मारेर घर खर्च चलाउन पनि सकिँदैन, त्यसैले तरकारी लगाउन थालेका छौँ । मध्यवर्ती क्षेत्र आसपास बस्ने सो समुदायलाई वनभन्दा अन्य वैकल्पिक पेशातर्फ लगाउन यहाँ रहेको अमलटारी मध्यवर्ती उपभोक्ता समितिले व्यावसायिक तरकारी खेतीका लागि प्राविधिक र आर्थिक सहयोग गरेको छ ।

तरकारी खेतीका लागि तराई भू–परिधि कार्यक्रमले समेत आर्थिक सहयोग गरेसँगै यहाँका माझी, मुसहर र बोटे समुदाय यसतर्फ लागेका हुन् । मध्यवर्ती क्षेत्र आसपासमा रहेका विपन्न माझी, मुसहर र बोटे समुदायको जीवनमा परिवर्तनका लागि वनसँगै यहाँका स्थानीय तहहरुसमेत लागिपरेका छन् ।

उनीहरुको आर्थिक अवस्था सुधारका लागि विभिन्न व्यावसायिक तालीम प्रदान गर्ने गरेको नगर उपप्रमुख पे्रमशङ्कर मर्दनीय थारूले बताए । नदी तथा खोलामा माछा मार्दै आएका उनीहरु कतिपयलाई व्यावसायिक माछापालनमा समेत जोडिदिएको उनले बताएका छन् ।

उनीहरुको परम्परागत पेशालाई व्यावसायिक बनाउन पोखरी निर्माण र माछापालनका लागि अनुदान दिँदै आएको उपप्रमुख मर्दनीय थारूले बताए । माझी, मुसहर र बोटे समुदायको उच्चशिक्षामा पहुँच बढाउन यो समुदायबाट एसइई उत्तीर्णलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गर्ने गरेको समेत उनले भने ।