समाचार

शान्ति समाजले गर्यो विभिन्न वृद्धाश्रमलाई सहयोग

काठमाडौं । ज्येष्ठ नागरिक दिवसका अवसरमा मङ्गलबार मानवअधिकार तथा शान्ति समाजले विभिन्न वृद्धाश्रमलाई सहयोग गरेको छ ।

समाजले काठमाडौँ, विराटनगर र बुटवलका वृद्धाश्रममा नगद तथा दाङमा खाद्यान्न सहयोग गरेको जनाएको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडी, आजीवन सदस्य शोभा खनाल, स्रष्टा रामबाबु दाहाल र पुजन पौडेलले आफन्तको सम्झनामा काठमाडौँ र विराटनगरको आश्रमलाई रु ५० हजार सहयोग प्रदान गरेको समाजले विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौँको टौदहस्थित निजानन्द वृद्धाश्रमलाई रु २५ हजार र विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमलाई रु २५ हजार हस्तान्तरण गरिएको समाजले जनाएको छ ।

यस्तै शान्ति समाज रुपन्देही शाखाले बुटवल उपमहानगरपालिका–२ मा रहेको सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैँजु वृद्धाश्रमलाई रु १३ हजार आर्थिक सहयोग गरेको थियो । शान्ति समाज दाङ शाखाले पनि खाद्यान्न सहयोग प्रदान गरेको जनाइएको छ ।