राजनीति

काँग्रेस जनजागरणः ८ हजार कार्यक्रममा नेकपाका ५३ हजार ४७९ जना नेता/कार्यकर्ता काङ्ग्रेस प्रवेश

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सभामुख कृष्णबहादुर महराको राजीनामाका सम्बन्धमा ‘छानबिन प्रक्रिया नसकिँदासम्म’ भनेर समयावधि किटान गरी आएको भन्दै प्रस्ट र पूर्ण राजीनामा आउनुपर्ने जनाएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता शर्माले सभामुख महरामाथि गम्भीर प्रश्न उठेकामा दुःखित र स्तब्ध भएको उल्लेख गर्दै प्रस्ट र पूर्ण राजीनामा आउनुपर्ने पार्टीको धारणा सार्वजनिक गरेका हुन् । उनले भने, “जिम्मेवारी परित्याग गरेर छानबिनलाई निष्पक्ष ढङ्गले अघि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता हो, तर छानबिन गर्न एक वर्ष लाग्यो भने एक वर्षसम्म कार्यवाहकको नेतृत्वमा जाने त ?” उनले सबै नागरिक कानूनका दृष्टिमा समान भएकाले यो प्रकरण पनि कानूनअनुसार नै अघि बढाउनुपर्ने माग गरे ।

दोस्रो चरण थप उत्साहपूर्ण

पत्रकार सम्मलेनमा प्रवक्ता शर्माले पार्टीको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अयिभान’को दोस्रो चरण प्रथम चरणको तुलनामा थप उत्साहपूर्वक र व्यवस्थित ढङ्गले सम्पन्न भएको जानकारी गराए । अभियानको दोस्रो चरण गत भदौ २४ गते जननायक बिपी कोइरालाको जन्मजयन्तीका दिन प्रारम्भ भई यही असोज ७ गते समापन भएको थियो । पार्टीका अन्तरिम संरचनाहरु निर्माण भएका कारण दोस्रो चरणको कार्यक्रमहरु अझ व्यवस्थित भएको जानकारी दिँदै उनले भने, “३३० प्रदेशसभा क्षेत्रमा केन्द्रीय प्रतिनिधिको सक्रियता, जिल्ला कार्यसमितिको समन्वय, प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नेतृत्व र सङ्घीय क्षेत्र, गाउँ–नगर–वडा–टोल तहसम्मको बृहत्तर सहभागिताले पार्टी पङ्क्तिमा थप जागरण अभिवृद्धि भएको छ ।”

पन्ध्र दिनको अवधिमा वडा, गाउँ–नगर, क्षेत्र र जिल्ला तहसमेतमा गरी आठ हजारभन्दा बढी कार्यक्रम सम्पन्न भएको तथा अन्य दल परित्याग गरेर ५३ हजार ४७९ जनाले काङ्ग्रेसको सदस्यता लिएको प्रवक्ता शर्माले बताए । अभियान स्वदेशमा मात्र नभएर विदेशमा पनि सर्वोच्च अदालतले फैसला गरेबमोजिम जनसम्पर्क समितिहरुले मताधिकारको माग गर्दै दूतावासमा ज्ञापनपत्र बुझाएर सम्पन्न भएको पार्टीले जनाएको छ ।

प्रवक्ता शर्माले भने, “यस बीचमा फरक विचार प्रस्तुत गरेकै आधारमा चितवनमा एक युवकमाथि गरिएको साङ्घातिक हमला पनि निन्दनीय छ । अवस्थाप्रतिको वितृष्णालाई व्यवस्थाकै विरुद्ध प्रचारित हुन नदिन गम्भीर जवाफदेहिता राख्नुपर्ने दायित्व बोकेको सरकार र सत्तारूढ पार्टीको व्यवहार परिमार्जनतर्फ नभई प्रतिकारतर्फ लक्षित हुनु अत्यन्तै दुःखद छ ।”

पूर्वलोकतान्त्रिक फोरमसँग एकता निष्कर्षमा
जागरण अभियानको दोस्रो चरण समापनलगत्तै यही असोज १० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको नेपाली काङ्ग्रेसमा समायोजन प्रक्रियालाई अन्तिम रूप दिएको उनले जानकारी दिए । यो निर्णयले पार्टी पङ्क्तिमा थप ऊर्जा अभिवृद्धि गरेको उल्लेख गर्दै प्रवक्ता शर्माले समायोजन समितिले सहमतिपूर्वक तयार गरी केन्द्रीय कार्यसमितिले सर्वसम्मतिले पारित गरेको खाकाबमोजिम समायोजन भएका पदमा चयन गरिने बताए ।

कोजाग्रत पूर्णिमामा चियापान

जननायक बिपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएको समयदेखि नै काङ्ग्रेसले चियापन कार्यक्रम गर्दै आएको छ । काङ्ग्रेसले यस वर्ष पनि यही असोज २६ गते कोजाग्रत पूर्णिमाका दिन अपराह्न १ देखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम आयोजना गर्दैछ । यस कार्यक्रममार्फत सद्भाव आदान–प्रदानको निरन्तरता हुने प्रवक्ता शर्माले बताउनुभयो । विगतमा केन्द्रीय रूपमा मात्रै आयोजना गरिने दशैँ, तिहार र नेपाल संवत्का अवसरमा कोजाग्रत पूर्णिमाको दिनको चियापान कार्यक्रम गत वर्षबाट एकै दिन देशव्यापी आयोजना गरिए झैँ यसपटक पनि काठमाडौँ उपत्यकाका हकमा केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको र उपत्यकाबाहिर ७४ जिल्लामा काङ्ग्रेस जिल्ला कार्यसमितिहरुको आयोजनामा सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ ।