समाचार

पञ्चायतजस्तो कसैलाई निशेध गर्ने शासन अहिले हुँदैनः अध्यक्ष शर्मा

काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले २००७ सालको आन्दोलनलाई कम आँके लोकतन्त्र नै समाप्त हुने बताएका छन् ।

राजनीतिज्ञ सुन्दरराज चालिसेको शत्वार्षिकी जन्मजयन्ती विशेष समापन समारोह तथा सम्मान कार्यक्रममा शर्माले लोकतन्त्रको जग २००७ सालको क्रान्ति भएकाले त्यसको अवमूल्यन गर्न नहुने बताए । “पञ्चायती व्यवस्थाले जहानियाँ राणा शासनको अन्त्य गरेको दिनलाई निषेध गरेजस्तो अहिलेको शासन व्यवस्थामा हुनु हुँदैन”, उनले भने ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रजातन्त्र स्थापनाका लागि राणाशाहीलाई ग्रिनेड हान्न तयार हुने चालिसेको योगदान ओझेलमा पारिएको बताए । परिवर्तनका लागि निःस्वार्थ त्याग र तपस्या गर्ने व्यक्तिलाई बिर्संदै गएकामा उनले सरोकारवाला निकायको ध्यानाकर्षण गराए । पूर्व प्रहरी महानिरीक्षक खड्गजीत बरालले २००७ सालको क्रान्तिको मुक्ति सेनाले राज्यबाट पैसा नलिए पनि २०५१ सालपछिको सशस्त्र जनयुद्धका जनमुक्ति सेनाले पैसा लिएको बताए ।

कार्यक्रममा ‘सुन्दरराज चालिसे–सुशीलादेवी चालिसे स्मृति प्रतिष्ठान’का अध्यक्ष सुरेशराज चालिसेले प्रजातन्त्र स्थापना एवम पुनःस्थापनामा चालिसेले पु¥याउनुभएको योगदानको चर्चा गरेका थिए । सो अवसरमा २००७ सालको क्रान्तिमा महत्वपूर्ण योगदान दिने प्रजातन्त्र सेनानी शङ्करबहादुर केसी, अमरसिंह श्रेष्ठ, शान्ता श्रेष्ठ, स्नेहलता श्रेष्ठ र केदारबहादुर नेपालीलाई सम्मान गरिएको थियो । कार्यक्रममा ‘सुन्दरराज चालिसे स्मृति ग्रन्थ’, ‘सुन्दरराज चालिसे अनुभूति र दृष्टि’ तथा ‘२००७ सालको क्रान्तिपछिका संस्मरण’ नामक कृति सार्वजनिक गरिएको थियो ।

विसं १९७५ मा काठमाडौँको इन्द्रचोकमा जन्मनुभएका राजनीतिज्ञ चालिसेको २०५४ सालमा निधन भएको थियो । कार्यक्रममा चालिसेको विषयमा निर्माण गरिएको वृत्तचित्र प्रदर्शन गरिनाका साथै उहाँले १९९५ सालमा खेल्नुभएको ‘मुकुन्द इन्दिरा’ नाटक पनि प्रदर्शन गरिएको थियो । सो नाटकको निर्देशन शत्वार्षिकी समारोह समितिको अध्यक्षसमेत रहनुभएका शताब्दी पुरुष जोशीले गरेका हुन् ।