आर्थिक

हतियारसहित धरान र दाङका तामाङ र गिरी पक्राउ

काठमाण्डौ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी धरान घर भएका २४ वर्षीय शैलेश तामाङ र दाङ घोराही नगरपालिका–९ का २० वर्षीय उज्वल गिरी रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु१ख ९९८८ नंको बस जाँच गर्ने क्रममा बसमा सवार शैलेशका साथमा कटुवा पेस्तोल र सोही बसमा सवार उज्वलको साथमा सोही पेस्तोलको गोली एक थान फेला पारेको थियो । उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु ल्याइएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

लागुऔषधसहित दुई भारतीय नियन्त्रणमा

यसैबीच काठमाडौँ महानगरपालिका–१४ स्युचाटारबाट नियन्त्रित लागुऔषध डाइजेल्याब ९६ एम्पुल, नुर्फिन ९६ एम्पुल र फेनरागन ९५ एम्पुलसहित दुई जनालाई आजै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मधुवन घर भएका २० वर्षीय सरेग मण्डल र सोही ठाउँका २० वर्षीय सुनिलकुमार चौधरी रहेका छन् । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागुऔषध फेला परेको थियो ।