खेलकुद

टाइम कप क्रिकेट शुरु

दमौली । परिवर्तन नेपाल तनहुँ र टाइम एकेडेमीको संयुक्त आयोजनामा यहाँ आजदेखि टाइम कप क्रिकेट शुरु भएको छ । क्रिकेटप्रति आकर्षित गर्न तथा खेलाडीको हौसला बढाउने उद्देश्यका साथ उक्त प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले क्रिकेटको माध्यमबाट नेपाल विश्वमाझ चिनिन सफल भएकाले राज्यले यसमा लगानी बढाउनुपर्ने बताए । तनहुँ क्रिकेट सङ्घका अध्यक्ष ताराराम श्रेष्ठले क्रिकेटको विकासका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए । टाइम एकेडेमीका सञ्चालक विश्वप्रकाश भुसालले जिल्लामा प्रतिभा भए पनि प्रतियोगिता नहुँदा खेलाडी निराश भएको बताए ।

असोज १९ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेतालाई रु ४० हजार र उपविजेतालाई रु २० हजार पुरस्कार प्रदान गरिने परिवर्तन नेपालका अध्यक्ष प्रविण पौडेलले जानकारी दिए।