समाचार

उपत्यकाका दुई प्रहरी वृत्तको उद्घाटन

काठमाण्डौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने अपराध नियन्त्रण गरेमात्र आम नागरिकले प्रहरी सङ्गठनप्रति भरोसा र विश्वास गर्ने बताएको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको नवनिर्मित भवनको आज छुट्टाछुटै उद्घाटन गर्दै उनले कानून कार्यान्वयन गरी अपराधीलाई तत्काल पक्राउ गर्नसके सबैले नेपाल प्रहरीप्रति भरोसा गर्ने बताए। “प्रविधिले मात्र अपराध नियन्त्रण हुन सक्दैन, प्रहरी पनि चनाखो हुनुपर्छ”, उनले भने, “सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई पूरा गर्न नेपाल प्रहरी दृढसङ्कल्पका साथ लागि परेको छ ।”

महानिरीक्षक खनालले समाजमा हुने अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए । समुदाय–प्रहरी साझेदारी कार्यक्रममा २६ हजार नागरिक जोडिसकेका छन् ।

उनले सरकारले राखेको नीतिअनुसार महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई नेपाल प्रहरीले अरु नागरिकभन्दा छिटोे, छरितोे सेवा प्रदान गरेको बताउँदै भूकम्पपछि त्रिपालमुनि बसेर पनि नेपाल प्रहरीले नागरिकको सुरक्षामा खटिएको स्मरण गरे । महानिरीक्षक खनालले सुन्दर भवनबाट सुन्दर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिए।

नेपाली चलचित्र जगत्का महानायक राजेश हमालले प्रहरी र नागरिक एक सिक्काका दुई पाटा भएको बताउँदै प्रहरीमा बढुवा र चलचित्रमा इन्सपेक्टरको भूमिका महत्वपूर्ण हुने गरेको उल्लेख गरे ।

काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाल, काठमाडौँ महानगरपालिका–३ का अध्यक्ष दीपक केसीलगायतले पछिल्लो समय नेपाल प्रहरीले अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको बताए ।

महानगरीय प्रहरी वृत्त लैनचौरको भवन एक वर्ष अगाडि निर्माण भए पनि जग्गा नेपाल प्रहरीको नाममा नामसारी नभएकाले उद्घाटन भने आज गरिएको हो । झण्डै रु आठ करोड लागतमा निर्माण भएको उक्त भवन ३१ कोठा र महिला, पुरुष र तेस्रोलिङ्गी समुदायलाई थुन्नका लागि छुट्टाछुट्टै थुनुवा कक्ष रहेको वृत्तका प्रमुख सन्तोषसिंह राठौरले जानकारी दिए। सोही अवसरमा वृत्तको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्ज भने दुई महीना अगाडिमात्र सम्पन्न भएको हो । संयुक्त राष्ट्रसङ्घको (युएनओपिएस) परियोजनाअन्तर्गत सम्पन्न भएको उक्त वृत्त अन्डरग्राउण्ड पार्किङसहित पाँचतल्ले रहेको छ । १८ महीनामा सम्पन्न भएको उक्त भवन निर्माणका लागि रु ११ करोड लागेको वृत्तका प्रमुख उमेश लम्सालले बताए ।

युएनओपिएस परियोजनाले नेपालका विभिन्न जिल्लामा ५६ वटा प्रहरी कार्यालय निर्माण गरिसकेको परियोजना देशीय निर्देशक चाल्र्स कलाननले जानकारी दिए । जसमध्ये २५ वटा भवन निर्माण गरिसकेको छ भने बाँकी भवन पनि निर्माणाधीन अवस्थामा रहेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले भवन निर्माणसँगै प्रहरी कर्मचारीको मनोबल वृद्धि हुने र उपत्यकाको शान्ति सुरक्षा थप मजबुद हुँदै जाने विश्वास व्यक्त गरे ।