शिक्षा

कक्षा ११ र १२ निःशुल्क

मेलम्चि । आजकल त्रिपुरासुन्दरी गाउँपालिका– ३ स्थित महेन्द्रप्रताप माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीका दैनिकी फेरिएको छ । उनीहरु बिहान ६ बजे किताब बोकेर विद्यालय आएपछि साँझ– ६ बजेपछि मात्रै घर फर्कन्छन् ।

शैक्षिक गूणस्तर सुधारका लागि त्रिपुरासुन्दरी गाउँपालिका– ३ स्थित महेन्द्रप्रताप माध्यमिक विद्यालयमा दैनिक १२ घण्टा कक्षा सञ्चालन शुरु गरिएको छ । एसइईमा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले माध्यमिक तहमा अध्ययनरत विद्यार्थीका लागि दैनिक १२ घण्टा कक्षा सञ्चालन गर्न थालिएको वडा शिक्षा समितिका संयोजक एवं वडाध्यक्ष शुकदेव रिसालले बताए ।

वडाको अग्रसरतामा दैनिक १२ घण्टाको कक्षा सञ्चालन हुन थालेपछि अभिभावकमा पनि खुशियाली छाएको छ । विद्यार्थी पनि उत्तिकै खुशी छन् । बिहानै खाना पकाएर अभिभावकले किताबकपीका झोलासँगै टिफिन बक्समा खाना पठाउने गरेका छन् ।
“अभिभावकलाई आफ्ना बालबच्चाको पढाई उत्कृष्ट होस् भन्ने छ, हामीलाई पनि यो विद्यालयलाई नमूना विद्यालयका रुपमा विकास गर्ने ठूलो चाहना छ”, वडाध्यक्ष रिसालले भने, “अभिभावक, विद्यार्थी र हाम्रो चाहना मिलेपछि माध्यमिक तहमा दैनिक १२ घण्टाको पढाई शुरु गरेका हौँ ।” साँझ बिहानको थप सेवाबापत शिक्षकका लागि वडातहबाटै थप सुविधा दिइने बताइएको छ ।

कक्षा ११ र १२ निःशुल्क

विद्यालयमा अब कक्षा ११ र १२ मा निःशुल्क पढाइ हुने भएको छ । आगामी शैक्षिक सत्रबाट यस विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीका लागि कुनै पनि शुल्क लाग्ने छैन । नेपालको संविधानले माध्यमिक तह (कक्षा १२) सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेअनुसार त्रिपुरासुन्दरी गाउँपालिकाको ३ नम्बर वडाबाट आफूहरुले निःशुल्क शिक्षाको शुरुवात गर्न लागेको वडाध्यक्ष रिसालले बताए ।