गण्डकी प्रदेश

दमौलीमा कपडा बैंक स्थापना, निःशुल्क कपडा वितरण

दमौली । लायन्स क्लब अफ तनहुँले दमौलीमा कपडा बैंक सञ्चालन गरेको छ । आर्थिकरूपमा विपन्न समुदायलाई लक्षित गरी क्लबले कपडा बैंक सञ्चालन गरेको हो । विपन्न समुदायका लागि निःशुल्क कपडा वितरण गर्ने उद्देश्यसहित कपडा बैंक स्थापना गरिएको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार चाडपर्वका समयमा विपन्न समुदायका परिवारले रकम अभावले कपडा किन्न नसक्ने भएकाले कपडा बैंकबाट निःशुल्करूपमा कपडा उपलब्ध गराइनेछ । ‘हुनेले दान गर्नुहोस्, नहुनेले ढुक्क साथ लैजानुहोस्’ भन्ने मूलमन्त्रसहित स्थापना गरिएको बैंकका लागि जिल्ला समन्वय समितिले ठाउँ उपलब्ध गराएको छ । बैंकमा प्रयोग भएका कपडा राखिए पनि उक्त कपडा पुनःप्रयोगका लागि योग्य रहेका श्रेष्ठले जानकारी दिए ।

“असहाय, गरीब तथा विपन्न व्यक्ति तथा समुदायले बैंकमा आएर छानेर कपडा लैजान सक्छन्”, श्रेष्ठले भने। बैंक स्थापनाका अवसरमा बन्दीपुर गाउँपालिका वडा नं १, २ र ३ मा बसोबास गर्ने सीमान्तकृत २५ चेपाङलाई कपडा वितरण गरिएको क्लबले जनाएको छ । कपडा पाएपछि आर्थिकरूपमा विपन्न चेपाङ समुदाय खुशी भएका छन् ।

वडा नं ३ का कृष्णबहादुर चेपाङले बैंक आफूहरुका लागि बरदान भएको बताए । “चाडपर्वमा नयाँ कपडा किनेर लगाउन सक्ने हैसियत छैन”, उनले भने, “बैंकबाट नयाँ जस्तै कपडा पायौँ ।” कपडा बैंकमा प्रयोग गर्न मिल्ने कपडा, सिरक, डसना, तन्ना, जुत्तालगायत राखिएका छन् । उक्त कपडा बैंक सोमबार, बिहीबार र शनिबार खुला रहने क्लबले जनाएको छ ।

बिनादर्ता पसल सञ्चालन

जिल्लाको व्यास नगरपालिका–१० मा बिनादर्ता पसल सञ्चालन गरेका पाइएका छन् । वडास्तरीय अनुगमन समितिले दुम्सीचौर र शेवरमा गरेको अनुगमनका क्रममा दर्ता नगरी पसल सञ्चालन गरेको भेटिएको हो । दशैँ शुरु भएलगत्तै वडाध्यक्ष तुलसीराम सापकोटाको नेतृत्वमा अनुगमन टोलीले वडाभित्रका पसल अनुगमन शुरु गरेको छ । बिनादर्ता सञ्चालन भएका पसललाई दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको सापकोटाले जानकारी दिए । उनका अनुसार अधिकांश पसलले मूल्यसूचीसमेत राखेका छैनन् ।