खेलकुद

टी–ट्वान्टी क्रिकेटमा जिम्बावे र नेपाल भिड्दैः जिम्बावेसंग बदला लिन नेपाललाई अवसर

काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी (ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज मंगलबार टेष्ट राष्ट्र जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दैछ । सिरिज अन्तर्गत पहिलो खेलमा पराजय व्यहोरेको नेपालले मंगलबार फेरी जिम्बावेविरुद्ध खेल्न लागेको हो ।

इन्डियन एसोसियसनको मैदानमा नेपाल र जिम्बावेबीचको खेल साँझ सवा ५ मा सुरु हुनेछ । जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ । शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । जिम्बावेलाई हराएर नेपाल सिरिजको उपाधि होड बलियो बनाउन चाहन्छ ।

आयोजक तथा एसोसियट राष्ट्र सिंगापुरले आइतबार जिम्बावेलाई हराएपछि नेपाल थप हौसिएको छ । आइतबार राति भएको खेलमा सिंगापुरले जिम्बावेलाई ४ रनले पराजित गरेको थियो । सिंगापुरले जिम्बावेलाई हराएसँगै नेपाल तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको थियो ।

नेपालले २ खेलमा १ जित र १ हारसहित २ अंक जोडेको छ । नेपालले सिंगापुरलाई भने ९ विकेटले हराएको थियो । जसमा कप्तान पारस खड्काले १०६ रनको कीर्तिमानी शतक बनाएका थिए । सिरिजको तालिकामा जिम्बावेले पनि २ खेलमा २ अंक जोडेको छ । तर, नेपाल नेट रन रेटको आधारमा शीर्ष स्थानमा छ ।

सिंगापुरको पनि २ अंक छ । त्यसैले ३ वटै टिमले सिरिजको उपाधि जित्ने सम्भावना छ । डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छन् ।

यता, जिम्बावे पनि नेपाललाई लगातार दोस्रो खेलमा हराउँदै सिरिजको उपाधि होड बलियो बनाउन चाहन्छ । सिंगापुरसँग पराजित भएपछि दबाबमा रहेको जिम्बावे नेपालसँग सो गल्ति दोहर्याउन चाहदैन । सिरिजको दोस्रो खेलमा कीर्तिमानी शतक प्रहार गरेका नेपालका कप्तान पारस खड्काबाट नेपालले सोही प्रर्दशनको अपेक्षा गरेको छ ।