प्रदेश 1

विप्लव कार्यकर्ताको कोठामा राखिएको विस्फोटक पदार्थ बरामद

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थित एक व्यक्तिको घरको कोठामा भण्डारण गरेर राखिएको २५ किलो विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको समूहले विस्फोटक पदार्थ भण्डारण गरेर राखेको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरी टोलीले बरामद गरेको आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।

जुटको बोरामा लुकाइछिपाइ भण्डारण गरी राखेको अवस्थामा ‘हाइ एक्सप्लोसिभ’ लेखिएको २०५ लोला बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार आइतबार राति पक्राउ गरिएको सो विस्फोटक पदार्थ २५ केजी रहेको छ । उक्त विष्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधि भनी चन्द समूहका झापा जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविन मिश्र, जिल्ला इञ्चार्ज सुमनसिंह पौडेल, जिल्ला जनसरकार प्रमुख (जिल्ला सदस्य) टीका पोखरेलले एक महीनाअघि स्थानीयको घरमा भण्डारण गरेर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले दुई हप्ताअघि हातहतियारसहित पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई हातहतियार खरखजाना, विष्फोटक पदार्थ, राज्यविरुद्धको कसूर, जबर्जस्ती चन्दा असुली र सङ्गठित अपराधअन्तर्गत झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।