राजनीति

देश र जनताका समस्या समाधानतिर नेकपा नेतृत्वको ओली सरकार पूर्ण रुपमा असफलः नेता खाँण

जनकपुर । नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार सङ्घीय लोकतान्त्रिक पद्धतिलाई सबल बनाउने सन्दर्भमा उदासीन रहेको आरोप लगााएका छन् ।

नेपाल प्रेस युनियन धनुषा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख सचेतक खाँणले सरकार जनताको पक्षभन्दा पनि केन्द्रमुखी भएको आरोप लगाए । देशमा दुई तिहाइको सरकार भए पनि आम जनताको रक्षा, विकास र शासन व्यवस्था अन्योल अवस्थामा रहेको प्रसङ्ग उनले उल्लेख गरे ।

एक प्रसङ्गमा प्रमुख सचेतक खाँणले वर्तमान नेकपाको सरकारले छिमेकी राष्ट्र चीनको जस्तो शासन ल्याउन खोज्नु नेपालको संविधानको बर्खिलाप हो भने । नेपालको राज्य प्रणालीमा चीनको शासन शैली आत्मसात गर्न खोज्ने क्रियाकलापप्रति नेपाली काङ्ग्रेसको आपत्ति छ भन्दै उनले सरकारको यो क्रियाकलाप लोकतन्त्र र सङ्घीयतामाथि प्रहार भएको बताए ।

उनले सङ्घीय लोकतन्त्रको आधारशिलामा बनेको सरकारले संविधान प्रतिकूल हुने विधेयक संसद्मा प्रस्तुत गरी स्वतन्त्र पे्रस, मानवाधिकार, सुरक्षा परिषद्, नागरिकको सम्पत्तिमाथिको अधिकार हनन हुने कुचेष्टा गरिरहेको चर्चा गने । नेपाली काङग्रेस संविधानको प्रतिकूल हुने कुनै पनि विधेयक अगाडि बढ्न दिँदैन भन्दै उनले सरकारले एकल किसिमले सञ्चालन गर्न ऐन कानूनमा छिद्र पार्न खोज्नु देशका लागि घातक हो भने ।

संविधानको स्वामित्व ग्रहण हुने गरी संविधान परिमार्जन हुनै पर्दछ भन्दै उनले मधेशवासीलगायत अन्य समुदायले पनि हामी सबैको संविधान हो भन्ने स्वामित्व लिने किसिमले परिमार्जन हुनुपर्ने धारणा राले । एक प्रसङ्गमा सरकारको नेतृत्वकर्ताको शैली जङ्गबहादुर राणा र ज्ञानेन्द्र शाहभन्दा पृथक नरहेको टिप्पणी गर्दै सरकारद्वारा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नु निन्दनीय हो भने ।