राजनीति

धमाधम भ्रष्टाचारी समातिएका समातिऐ छन्, छिट्टै भ्रष्टाचार नियन्त्रण हुंदैछः प्रधानमन्त्री

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका सडकमा रहेको अनाथ, असहाय, मनोरोगी मानवको उद्धारसहित व्यवस्थापन गर्न निर्देशन दिएका छन् । भक्तपुरको कौशल्टारमा आज आयोजना गरिएको मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटन एवं गृह प्रवेश कार्यक्रममा उनले भने, “सबै स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सडक मानव, सडक बालबालिको उचित व्यवस्थापन गर्नुपर्छ ।”

देशको भोलिका कर्णधारका रुपमा रहेका बालबालिका सडक आए, देश पनि सडकमा आउने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले अनाथ, बेसाहारा, असहाय कोही पनि सडकमा रहन नपरोस् भनेर अहिलेको सरकारले घोषणा गरेको बताए ।

उनले अभियान चलाएर केही महीनाभित्रै सडक रहेका मानवमुक्त उद्धार हुनुपर्छ भने, । प्रधानमन्त्री ओलीले भने, “सडकमा आफै कोही पनि पुगेका होइनन् परिवारले नै पु¥याएका हुन् । आमाबाबु नपाल्ने छोराछोरीबाट करकठ्ठा गरेर आमाबाबुलाई दिलाउनुपर्छ ।”

प्रधानमन्त्री ओलीले भने, “सडकलाई अनाथ, असहाय मानवमुक्त बनाउने उद्देश्यले सञ्चालन भएको अभियानमा रु एक करोड प्रदान गर्छु, यो रकमबाट अक्षयकोष निर्माण गर्नुस् ।” कुनै विदेशी आइएनजिओ र स्वदेशी एनजिओको सहयोगबिना नै तलब भत्ता नलिइ स्वयंसेवाको भावनाले शून्यबाट शुरु गरेको कामलाई सहयोग गर्न आवश्यक भएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले सडकबाट उद्धार गरी आश्रममा ल्याइएका अनाथ, असहायलाई मासिक रु तीन हजारका दरले भत्ता उपलब्ध गराउने घोषणा पनि गरे ।

सामाजिक सञ्जालमा बिनाकारण सरकारको आलोचना गर्नेप्रति टिप्पणी गर्दै उनले सामाजिक सञ्जाल, फेसबुकबाट अनावश्यक विषयमा कुर्लिएर अश्लिलता देखाउन्ुको सट्टा यस्तो मानवीय सेवामा समय दिन आग्रह गरे । प्रधानमन्त्री ओलीले भने, “समस्या नै नभए पनि नकारात्मक सोचाइ राखेर अनावश्यक विषयमा सडकमा दिनैपिच्छे हल्ला गर्ने, जुलुस गर्नुभन्दा सडकबाट असहायलाई उद्धार गरेर देश निर्माणको काममा लगाउनु आवश्यक छ ।” देशमा डेङ्गु नियन्त्रण गर्न सबै लाग्नुपर्नेमा जुलुस लिएर सडकमा ओर्लिन्छन् भन्दै उनले भने, “सरकारको ध्यान विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रणमा गएको छ, धमाधम भ्रष्टाचारी समातिएका छन् ।”

प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले सडक मानवमुक्त बनाउन सूर्यविनायक र चाँगुनारायण क्षेत्रमा यसअघि नै अभियान सञ्चालन भइसकेको र अब भक्तपुरलाई नै असहाय, बेवारिसे, अनाथ, मनोरोगी मानवमुक्त घोषणा छिट्टै गर्न सकिने बताए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले देशलाई सडक मानवमुक्त बनाउन गरेको घोषणालाई पूरा गर्न महानगरपालिका पूर्णरुपमा साथ र सहयोग दिएर लागिरहेको बताए । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मीले मानवसेवा आश्रमको लक्ष्यलाई पूरा गर्न हरतरहले सहयोग गर्ने बताए ।

मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हेटौँडामा मुख्य कार्यालय बनाएर शुरु भएको संस्थाले हालसम्म मकवानपुर, चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, बागलङ, लमजङ गोरखालगायतका १४ जिल्लामा १६ वटा शाखा सञ्चालन गरी सडकमा रहेको असहाय, बेवारिसे, अनाथ, मनोरोगीको उद्धार गरी आश्रय दिँदै आएको बताए । उनले अहिलेसम्म आश्रमले दुई हजारभन्दा बढीको सडकबाट उद्धार गरेको, उद्धार गरिएकामध्ये ६०० को परिवारमा पुनःमिलन गराएको र ५०० को आश्रममै मृत्यु भएको बताउँदै २०८२ भित्रमा देशभरबाट सडक मानवमुक्त बनाउने लक्ष्य लिएर अभियान शुरु गरेको बताए ।

सातवटै प्रदेश सरकारले ५०० जनाका दरले यस्ता सडक मानव राख्ने आश्रम निर्माण गरिदिएर अवको एक वर्षमा नै देशभर सडक मानवमुक्त बनाउने सकिने बताए । मानवसेवा आश्रमलाई रु १० लाख सहयोग गर्ने वल्र्ड लिङ्क, हेटौँडामा ३०० जना सडक मानव राख्न सक्नेगरी निर्माण भइरहेको आश्रमका लागि रु २५ लाख प्रदान गर्ने काठमाडौँ आइटम राउण्ड टेबल सेभेन, एक हजार २०० थान ज्याकेट र कपडा प्रदान गर्ने सिटीएक्सप्रेस गु्रप, एक लाख एक हजार प्रदान गर्ने मिडसिटी अस्पताललाई सम्मान गरेको थियो । आश्रमका संरक्षक डा गोविन्द टण्डनले मानवीय सेवामा सबैको साथ र सहयोगको आवश्यकता रहेको औँल्याए ।