उर्जा

रु आठ करोड जरिवाना- एक साताभित्र बिजुली बल्ने

चुरियामाई । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको भौतिक पूर्वाधार निर्माण सम्पन्न भइ सवस्टेशन टावरमा जोड्ने काम सम्पन्न भएको छ ।

कुलेखानी जलविद्युत् आयोजनाका अनुसार विद्युत्गृह तथा टावर निर्माण सम्पन्न गरी तारसमेत टावरमा जोड्ने काम सकिएको छ । एघार वर्षदेखि निर्माण हुँदै आएको सो आयोजनाको सबै सामग्री परीक्षण गर्नुको साथै टर्वाइनसमेत घुमाएर परीक्षण गरिएको आयोजनाका प्रबन्धक कमल आचार्यले जानकारी दिए । “उत्पादित विद्युत् कुलेखानी–हेटौंँडा प्रसारणलाइनमा जोड्न तयारी अवस्थामा छ”, उनले भने ।

दशैंँ अगाडि नै विद्युत् प्रसारण लाइनमा जोड्ने तयारी आयोजनाले गरिरहेको आचार्यले बताए । असोज १४ गते चिनियाँ प्राविधिक टोली नेपाल आइपुग्ने त्यसपछि विद्युत् उत्पादन गरी प्रसारण लाइनमा पठाइने आचार्यले बताए । ठेकेदार कम्पनीको लापरवाहीका कारण विद्युत् उत्पादनमा ढिलाइ भएको उनको भनाइ छ । कम्पनीले रु आठ करोड जरिवानासमेत तिरिसकेको छ । चौध मेगावाट क्षमताको उक्त आयोजनालाई पूर्ण क्षमताको उत्पादनका लागि खानीखोलामा जोड्नुपर्ने उनको भनाइ छ ।