लुम्बिनी

विपन्न परिवारको उपचारका लागि भेटिपेटिकाको शुरुआत

पाल्पा । गरीब, विपन्न परिवारको उपचारमा आर्थिक सहयोगका लागि पाल्पाको रामपुर नगरपालिकामा भेटिपेटिकाको शुरुआत गरिएकोे छ । मृत्यु संस्कारमा भेटघाटको क्रममा लगिने फलफूल, चामल, घिउजस्ता वस्तुको अन्त्य गरी वडा नं ७ को कार्यालयले भेटिपेटिकाको व्यवस्था शुरु गरेकोे हो ।
मृत्यु संस्कारमा लगिने फलफूल, चामल, घिउकोे ठाउँमा रकम सङ्कलन गरी गरीब तथा विपन्नको उपचारमा थोरै भए पनि आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले यस कार्यको शुरु गरिएको वडाध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताए । दिवङ्गत व्यक्तिको घरमा जाँदा फलफूलहरु बिग्रिएर खेर गएको देखिएकाले टोल विकास समितिमार्फत आएको सुझावको आधारमा कार्यक्रम ल्याएको उनले बताए ।

परम्पराको संरक्षणसँगै नयाँ युगको शुरुआतका लागि कार्यप्रारम्भ गरिएको छ । १४ टोल सुधार समिति रहेकामा वडाले अहिलेलाई छ भेटिपेटिका निर्माण गरेको छ । भेटिपेटिका वडा कार्यालयमा नै रहने र जुन घरमा दुःख पर्छ सोही स्थानमा टोल विकास संस्थामार्फत परिचालन गरिनेछ वडासचिव गीता पौडेल बताउछन् ।

यस कार्यको थालनी वडा र नगरमा मात्र सीमित नगरी देशव्यापी रुपमा भएको खण्डमा सामाजिक संस्कारमा गरिने फजुल खर्च सही ठाउँमा सदुपयोग हुने स्थानीय दोवराज तिवारी बताउछन्। आर्थिक अभावमा उपचार गर्न नसक्दा धेरैले अकालमा ज्यान गुमाउनुपरेको छ । यस कार्यले थोरै भए पनि उपचारमा केही सहयोग पुग्नेछ । पछिल्लो समय काजकिरिया खर्चवापतको रकम कटौती गरेर सामाजिक क्षेत्रमा सहयोग गर्ने क्रम पनि विस्तारै बढ्न थालेको छ ।