समाचार

पाटन–पञ्चेश्वर सडक अवरुद्ध

बैतडी । केही दिनदेखिको अविरल वर्षाका कारण सडक भासिँदा पाटन–पञ्चेश्वर सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डको पाटन नगरपालिका वडा नं ६ लोर्खा सडक भासिएर शनिबार बेलुकादेखि सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । सडक पुरै भासिएकाले सडक सञ्चालन गर्न केही समय लाग्ने प्रहरी नायब उपरीक्षक पाण्डेयको भनाइ छ ।
सडक अवरुद्ध हुँदा दशैँका लागि घर फर्किरहेका बैतडीको तल्लोस्वराडका यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । यसका साथै शनिबार बेलुकादेखि सवारीसाधन पनि बीचबाटोमै रोकिएका छन् ।