बाग्मती

असन्तुष्ट गुण्डाहरुले कुटपीट गरी घाईते बनाएका शाहीलाई उपचारका लागि काठमाडौँ पठाइयो

चितवन । गणतन्त्र पक्षधरको आलोचना गर्दै हिँडेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि आज यहाँ साङ्घातिक आक्रमण भएको छ ।

भरतपुरको चौविसकोठीमा उहाँको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो उहाँमाथि आक्रमण भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको होटल ग्लोवलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नंको माइक्रोबसमा आक्रमण भएको हो । युवा समूहले ढुङ्गा, रड, लाठी प्रहार गरी माइक्रोबसभित्र रहेका शाहीसहितको समूहमाथि आक्रमण गरेको हो ।

प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घाइते शाही चितवन मेडिकल कलेजको उपचारपछि काठमाडौँ जानुभएको छ । उहाँको अवस्था खतरामुक्त रहेको मल्लले जानकारी दिए । शाहीले काठमाडौँको अस्पतालमा उपचार गर्न चाहेको बताइएको छ । उहाँको खुट्टामा चोट लागेको छ भने टाउको र शरीरमा समस्या भएको उनले बताए । आक्रमणमा घाइते भएका अन्य दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले बताए ।

प्रहरी उपरीक्षक मल्लका अनुसार सो क्रममा आक्रमण गर्ने एक जनालाई पक्राउ गरिएको छ । उहाँमाथि आक्रमण भएको खबर पाउनासाथ उद्धार गरिएको प्रहरी उपरीक्षक मल्लको भनाइ छ । त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुले चौविसकोठीमा शाहीले सम्बोधन गर्ने गरी गर्न लागिएको कार्यक्रम बिथोलेका थिए ।

झडप हुन सक्ने भन्दै प्रहरीले पनि कार्यक्रम नगर्न आग्रह गरेको प्रहरी उपरीक्षक मल्लले बताए । शाहीमाथि कसले आक्रमण ग¥यो भन्ने विषयमा बुझ्ने काम भइरहेको उनले जानकारी दिए । सो क्रममा माइक्रोबस तोडफोड भएको छ ।